
काठमाडौं । पाेर्चुगलमा एनआरएन प्रतिनिधि विवादकाबीच वर्तमान अध्यक्ष दीपा काफ्लेले कार्यालयमा तालाबन्दी गरेकी छन् । उनले निवर्तमान अध्यक्ष उमेशकुमार खड्काले आफ्नो कार्यकाल समाप्त भए पश्चात पनि कार्यालय कब्जा गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेकी हुन् ।
सन् २०२३ जुलाई ३० मा सम्पन्न भएको नवौं राष्ट्रिय अधिवेशनमा बन्द शत्रको म्याण्डेट अनुसार सन् २०२४ अगष्ट १ बाट काफ्ले अध्यक्ष हुने भनिएकाे थियाे । त्यसअघि सन् २०२३ को लागि उमेश कुमार खड्का अध्यक्ष थिए । सन् २०२३-२५ का लागि काफ्ले र खड्का बीच चुनावी प्रतिस्पर्धा हुने भएपछि दुबैजनाले एक–एक वर्ष कार्यकाल अध्यक्ष हुनेगरी सहमति गरेका थिए । तर पछिल्लाे समयमा खड्का सहमति लत्याएर मनलाग्दी ढंगले एनआरएनए पाेर्चुगलकाे काम कारबाही गरिरहेका थिए ।
पछिल्लाे समयमा पाेर्चुगलमा रहेकाे अवैतनिक महाबाणिज्य दूतावास बन्द भएपछि पाेर्चुगलमा रहेका नेपाली कागजपत्र प्रमाणीकरणका लागि मारमा परेका थिए । यही सिलसिलामा फ्रान्सस्थित दूतावासले घुम्ती टाेली लगेर पाेर्चुगलमा रहेका नेपालीहरुकाे कागजपत्र प्रमाणिकरणकाे काम गरेकाे थियाे । याे प्रक्रियामा पनि खड्काले आफूले मनलाग्दी गरेकाे र महंगाे शुल्क असुलेकाे आराेप त्यहाँ भएका नेपालीहरुले लगाइरहेका थिए । खड्काले कागज पत्र प्रमाणिकरण गरेवापत सरकारलाई तिर्नुपर्ने राजस्व बाहेक सेवाग्राहीबाट १० देखि ७५ युरो असुलि गरेर संस्थाको बदनाम गरेको लामाे समयदेखि पाेर्चुगलमा बस्दै आएका केशव बास्ताेला बताउँछन् ।
खड्काले एउटा सामाजिक संस्थाकाे काम गर्न ‘गुण्डा’हरुलाई टेन्डर दिएर सबैलाई आतंकित बनाएर उक्त काम गरेकाे पनि बास्ताेला बताउँछन् । उनीहरुकाे आतंकका कारण पोर्चुगलमा रहेका अन्य संघ संस्थाहरु जनजाति महासंघ, मगर समाज पोर्चुगल, म्याग्दी समाज, बाग्लुङ समाज, पूर्वेली समाज, लमजुङ समाज, तनहुँ समाज, झापाली समाज त्यसैगरी, नेपालका प्रमुख राजनैतिक पार्टी नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति, नेकपा एमालेको भातृ संस्था एनडिएफ प्रवासी नेपाली मञ्च, माओवादीको भातृ संस्था पनि तैँचुप मैचुप भएर बसेकाे उनी बताउँछन् ।
यो बेथिति विसंगतिकोविरुद्ध आवाज उठाउँदा पटक–पटक ज्यान मार्ने धम्की आउँदा पनि आफू बाेलिरहेकाे बास्ताेला आफूविरुद्ध खड्काको गिरोहले फेक टिकटक र एनआरएनको फेसबुक पेजबाट बदनाम गराउँदा पनि अविचलित भएर आवाज उठाइरहेकाे बताउँछन् ।