• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

भूमि कर वृद्धि र अनियमितताविरुद्ध गोलबजार नगरपालिकामा धर्ना

  • २०८१ मङ्सिर ६, बिहीबार १७:०७

काठमाडौ । गोलबजार नगरपालिकाले प्रति कट्ठा रु ५ लाग्ने भूमिकरमा अचाकली वृद्धि गरी प्रतिकट्ठा रु चारसय बनाएको भन्दै भूमि कर पूर्ववत अवस्थामा फर्काउन माग गर्दै नेकपा माओवादी केन्द्रले धर्ना दिएको छ ।आर्थिक मन्दीका कारण किसानको ढाड सेकिएको बेला ४०० प्रतिशतले भूमि कर वृद्धि गर्नु न्यायसंगत नभएको भन्दै भूमिकर पूर्ववत अवस्थामा नफर्काएसम्म सम्झौताविहीन आन्दोलन गर्ने आन्दोलनकारी उमेश बरालले जानकारी दिएका छन् ।

नगर कार्यपालिकाको कार्यालय अगाडि आज(विहीबार) बिहान ११ बजेखि १२ बजेस्म्म शान्तिपूर्ण धर्नामा बसेका माओवादी नेता तथा कार्यकर्ताहरुले कर वृद्धिको विरोध स्वरुप पाखुरामा कालोपट्टी बाँधेका थिए ।धर्ना स्थलमा बसेका नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले गोलबजार नगरपालिकामा फर्जी कर्मचारीको नाममा लाखौंलाख रकम तलव निकासा दिइएको आरोप लगाइएको छ ।त्यसैगरी विपद् व्यवस्थापनको नाममा करोडौं रकम अनियमितता गरिएको र नागरिकले सूचना माग्दा नदिएकोले नगरपालिका अपारदर्शी रहेको आरोप पनि लगाए ।

धर्नाकारीहरुले आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को हालसम्मको खर्च पारदर्शी गर्न तथा सूचना दिन माग गरेका छन् ।माओवादी केन्द्रका मजदुर नेता रामपुकार कामतीले भने फर्जी कर्मचारी खडा गरी लाखौ रकम अपचलन भएकोले त्यसको सम्पूर्ण हरहिसाव सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने बताए ।नेकपा माओवादी केन्द्र गोलबजार संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रम अनुसार आगामी मंसिर ९ गते सिटी जुलुस प्रदर्शन र ११ गते नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा एक घण्टा रोक लगाउने संघर्षको कार्यक्रम सार्वजनिक गरिएको छ ।

  • २०८१ मङ्सिर ६, बिहीबार १७:०७