
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । गएकाे आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारमा जानेको संख्या १८.६८ प्रतिशतले वृद्धि भएको हो ।
गएको आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनाको तुलनामा चालू आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा १८.६८ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन, भदौ, असोज, कात्तिक र मंसिर) मा कुल तीन लाख २५ हजार ८०९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ५१ हजार २९२ जना बढीले श्रम स्वीकृति लिएका हुन् । गत मंसिरमा मात्रै विभागबाट ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएका छन् ।
चालू आर्थिक वर्ष २०८१/०८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२ र मंसिरमा ६८ हजार २०१ जनाले श्रम स्वीकृति लिएका थिए ।