कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

काठमाडौं । कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएको छ । नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो ।

बुधबार बसेको केन्द्रीय बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) अनुसार कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो ।

समस्याग्रस्त घोषणा गरिएसँगै सो बैंकको व्यवस्थापन पनि राष्ट्र बैंकले नियन्त्रणमा लिएको जनाएको छ ।

राष्ट्र बैंकले कर्णाली विकास बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्था समूह समेत गठन गरेको छ । सो समूहले बिहीबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने राष्ट्र बैंकले जनाएको छ ।

गठित समूहले बचतकर्ताको बचत फिर्ता गर्ने, ऋण असुली गर्ने र वित्तीय अपचलनमाथि आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंकले निर्णय गरेको छ ।

कर्णाली विकास बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, लगायतका समस्या देखिएको कारणले नियन्त्रणमा लिएको राष्ट्र बैंकले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१