
काठमाडौ । मन्थली नगरपालिकाका एक क्यान्सर पीडित विद्यार्थीको उपचारका लागि शिक्षकहरूले रकम सङ्कलन गरेर आर्थिक सहयोग गरेका छन् ।
बोन म्यारो क्यान्सरबाट पीडित भई उपचार गराइरहेका मन्थली मावि मन्थलीमा कक्षा ८ मा अध्ययनरत मन्थली नगरपालिका–७ निवासी १५ वर्षीय सन्देश पाण्डेको उपचारका लागि मन्थली माविका शिक्षकहरूले रकम सङ्कलन गरी सहयोग गरेका हुन् ।सो विद्यालयमा कार्यरत शिक्षकहरूले ५० हजार रुपैयाँ सङ्कलन गरेर विद्यालयका प्रधानाध्यापक डा. टङ्कप्रसाद दाहाल मार्फत मन्थली नगरपालिका–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईँलाई हस्तान्तरण गरेका छन् ।
पाण्डेको उपचारका लागि नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले पनि आर्थिक सहयोग गरेका छन् । गौतमले उनको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् ।क्यान्सर पीडित पाण्डेको उपचारमा आर्थिक अभाव भएपछि पूर्ववडाध्यक्ष प्रसाईँ सहयोग सङ्कलनमा जुटेका छन् । हालसम्म उनको उपचारका लागि ३ सय जनाभन्दा बढीले आर्थिक सहयोग गरेका छन् । अधिकांश सहयोगीहरूले १ हजारदेखि २ हजार रुपैयाँसम्म आर्थिक सहयोग गरेका छन् ।सहयोग गरिएको सबै जनाको रकम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी बिरामीलाई हस्तान्तरण गरिएको प्रसाईँले बताए । पाण्डेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा २५ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने चिकित्सकहरूले बताएका छन् ।