
काठमाडौं ।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी समर्थीत विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ । ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी(केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले कलेजबाट निकाला गरेको थियो ।
नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेशन पुर्याईएको घटनाको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद्ले आन्दोलन सुरु गरेको छ । केआईआईटी कलेजको आँगनमा परिषद्ले आन्दोलन चर्काएको छ ।
अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले नेपाली विद्यार्थीसँग कलेजल माफि माग्नुपर्ने र उनीहरुलाई कलेजमा फिर्ता बोलाउनुपर्ने माग गरेकाछन् । रेलवे स्टेशनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई खान र बस्नको व्यवस्था समेत कलेजले नै गर्नुपर्ने परिषद्ले माग गरेको छ ।
यस बाहेक मृतक विद्यार्थी र उनको परिवारलाई क्षतिपुर्ति दिन समेत परिषद्ले माग गरेको छ ।
परिषद्का ओडिसा सचिव बुद्धदेव वाग रेलवे स्टेशनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई भेट्न समेत पुगेकाछन् । वागले नेपाली विद्यार्थीलाई कलेज फर्काउन कलेज प्रशासनसँग संवाद सुरु गरिएको बताए । उनले भने, “हामी मृतक विद्यार्थीप्रति गहिरो समवेदना प्रकट गर्दछौं । नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर स्टेसनमा राखेर विश्वविद्यालयले गरेको अमानवीय क्रियाकलापको अखिल भारतीय विद्यार्थी परिषद् घोर भत्र्सना गर्दछ र यस्तो गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दछ ।”