कोशी एक्सिलेन्स अवार्ड २०८१ को तयारी पुरा

काठमाडौ । कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो ।

भोलि बुधवार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गर्ने गरी तयारी पूरा भएको जानकारी दिइएको हो ।कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार कार्यक्रममा विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिनेछ । जसअनुसार कृषि, बैङ्किङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि र स्टार्टअप विधामा अवार्ड प्रदान गरिने अध्यक्ष अधिकारीले जनाए ।

अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समिति समेत चयन गरिएको र उक्त समितिले सिफारिस गरेका आधारमा छनोट गरिएको उनको भनाइ छ ।‘पर्यटन प्रवद्र्नसँगै यस क्षेत्रका सक्रिय भइरहेकाहरूलाई पनि यो कार्यक्रमले प्रोत्साहन मिल्नेछ,’ उनले भने, ‘कोशीका एक्सिलेन्स व्यक्तिको सम्मानार्थका लागिसमेत यो कार्यक्रम आयोजना गरिएको हो ।’अवार्ड कार्यक्रमबाहेक विभिन्न क्षेत्रमा योगदान पुयाएका अन्य १२ जना व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिने तयारी गरिएको उनले जनाए।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा रहने जनाइएको छ ।कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपालकी प्रथम महिला मुख्य सचिव लीलादेवी गड्तौलासहित उच्च सरकारी ओहोदाका व्यक्तिहरूसमेत सहभागी हुने बताइएको छ ।
उक्त कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानल, इटहरीमै रहेको विराट टेलिभिजन, सप्तकोसी टेलिभिजन, एरिना टेलिभिजन र प्रदेश खबरको आधिकारिक वेबसाइट र फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१