सराङकोटमा महायज्ञ शुरु, पहिलो दिन ४५ लाख रुपैयाँ दान रकम संकलन

कठमाडौ । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव शुरु भएको छ ।

शिवरात्रीको दिन पारेर पोखरा १ गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा गरी शुरु गरिएको उक्त ज्ञानमहायज्ञको पहिलो दिन ४५ लाख रुपैयाँ दान संकलन भएको छ ।ज्ञानमहायज्ञको पहिलो दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट रु.१५ लाख, त्यस्तै खिमबहादुर जिसीको परिवारबाट रु.२ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए।

त्यस अवसरमा ज्ञानमहायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिँदै सराङकोट धामको वृद्धि विकासका लागि ज्ञानमहायज्ञ गर्नु परेको बताए ।पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिराज तिमिल्सीनाले सराङकोट महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । प्रवक्ता तिमिल्सीनाले सराङकोटको स्तर उन्नतिमा महानगरले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले सराङकोटमा निर्माण भएका संरचना संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षेत्री लगायतले पनि महाउत्सवको महत्वमाथि प्रकाश पार्दै सबैको साथ सहयोगबाट उत्सव सफल हुने विश्वास व्यक्त गरे ।उक्त महा उत्सव स्थलमा निर्मित विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको आउने शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।यज्ञ अवधिभर स्थानीय चत्रफ्बहादुर जिसी तथा उद्योगकुमारी जिसीले मूल कर्ताको भूमिका निर्वाह गर्ने आयोजक पक्षले जानकारी दिएको छ ।

सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पूजा तथा संगीतमय भजन कृर्तन गरिनेछ । सराङकोटमा अझैं १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१