प्रधानमन्त्रीलाई हिटलर र तानाशाही हो भनेर प्रश्न गर्ने दुई पत्रकारको संसद पास निलम्बन

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट निस्कदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित शब्द प्रयोग गरेर प्रश्न सोधेको भन्दै २ पत्रकारलाई संसद प्रवेशमा रोक लगाइएको छ ।

संसद सचिवालयले हिटलर र तानशाह शब्द प्रयोग गरेको आधारमा युवा मन नेपालका किशोरकुमार श्रेष्ठ र सुनौलो नेपालका प्रकाश वलीलाई कारबाही गरेको हो । दुवैको पास एक महिनाका लागि निलम्बन गरिने सचिवालयले जनाएको छ ।

गत फागुन ४ गते बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीलाई उनीहरुले एक प्रसँगमा हिटलर र तानाशाह हो ? भनेर प्रश्न तेर्साएका थिए । पत्रकार श्रेष्ठले ओलीलाई प्रश्न गर्दै ‘सामाजिक सञ्जाल विधेयक ल्याएर सरकार तानाशाही प्रवृत्तिमा हिँडेको हो ?’ भनेका थिए भने वलीले थप्दै ‘हिटलर हो प्रधानमन्त्री ज्यू ?’ भनेका थिए ।

प्रधानमन्त्री ओलीले जवाफमा भनेका थिए, ‘प्रश्न यहाँ होइन, बैठकभित्र गर्ने हो ।’ उक्त प्रवेश पास आजै कार्यालय समयभित्र सचिवालयमा बुझाउन आदेश दिइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१