मधानी महोत्सवको खर्च ६६ लाख २३ हजार, १० करोडको आर्थिक कारोबार

काठमाडौ । रौतहटको मौलापुरम भएको छैटौँ मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको छ । हालै सम्पन्न मधानी महोत्सवको समग्र समीक्षा, खर्च विवरण सार्वजनिक र अगामी योजनाहरूबारे छलफल भएको हो । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले महोत्सवको व्यवस्थापनमा ६६ लाख २३ हजार ३ सय रुपैयाँ खर्च भएको बताइन् ।

१० करोड भन्दा बढीको आर्थिक कारोबार भएको तथा नगरबासी व्यापारीहरूले दुई करोड भन्दा बढीको मुनाफा आर्जन गरेको प्रस्तुत विवरणमा उल्लेख छ । महोत्सव अवधिभर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको उनले जानकारी दिइन् । महा शिवरात्रीको अवसर पारेर फाल्गुन ११ गतेदेखि १५ गतेसम्म पाँच दिन मधानी महोत्सव भएको थियो ।मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय रामबाबु साहले मधानी महोत्सवले मौलापुर नगरपालिकालाई चिनाउने काम गरेको बताए ।

मौलापुर नगरपालिका तथा पतौरा धामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व थप उचाइमा पुगेको उनको भनाइ छ । आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा महोत्सवको खर्च सार्वजनिक गरिएको हो । सो कार्यक्रममा बोल्दै उनले मधानी महोत्सवले स्थानीय पर्यटन, धार्मिक पहिचान, सामाजिक एकता तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुयाएको बताए ।मौलापुरलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्ने सम्भावना अझ बलियो बनाएको उनको भनाइ छ । उनले महोत्सवको सम्बन्धमा समाजिक सञ्जालमा फिँजाइएका भ्रम र यथार्थ बारे तथ्याङ्कसहित विश्लेषणात्मक टिप्पणी गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१