प्रधानमन्त्रीको अनुपस्थितिप्रति प्रचण्ड असन्तुष्ट, रवि लामिछानेको समर्थनमा खुलेर बोले

काठमाडौं । माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सदनमा आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगातार अनुपस्थितिलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संसदमा उपस्थित हुन नदिइएको विषयमा पनि आक्रोश प्रकट गरे।

आजको संसद बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले भने, “प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि कुण्ठा? यसको उत्तर आफैं खोज्नुहोला।

” प्रधानमन्त्री ओली हाल काठमाडौंमा नरहेको र कोशी प्रदेशसभालाई सम्बोधन गर्न त्यहाँ पुगेका कारण संसद बैठकमा अनुपस्थित रहेको जनाइएको छ। अघिल्लो पटक पनि प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री अस्वस्थ भएको कारण देखाइएको थियो।

प्रचण्डले आफ्नो सम्बोधनमा रवि लामिछानेको खुलेर समर्थन गर्दै उनलाई संसद प्रवेशको अनुमति दिनुपर्ने माग गरे। उनले भने, “अर्को प्रतिपक्षी दलका नेतालाई निलम्बन गरिएको छ। तर, हिरासतमा नरहेको नेतालाई संसदमा आउन दिने परम्परा हामीले पहिले नै स्थापित गरिसकेका छौं। संसदभित्रै बहस हुँदा मात्रै लोकतन्त्र बलियो बन्छ, ठाउँ-ठाउँ घुमाएर हुर्मत लिँदैमा लोकतन्त्रलाई फाइदा हुँदैन।”

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१