
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रप्रति व्यक्त गरेको प्रतिबद्धताको प्रशंसा गरेका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रचण्डले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति देखाएको चिन्तालाई सकारात्मक रूपमा लिएको बताए।
थापाले भने,”प्रचण्डजीले व्यक्त गरेको अभिव्यक्ति सुन्ने अवसर पाएँ। विशेषगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्षी दलको प्रतिबद्धताको म मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु। हामी सबै यो व्यवस्था र संविधानप्रति समान रूपमा प्रतिबद्ध छौँ।”
उनले वर्तमान संविधान सबै दलको सहकार्यबाट बनेको भन्दै यसलाई जोगाउने जिम्मेवारी सबैको भएको उल्लेख गरे। कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको समर्थनमा रहनु कुनै एकल घटनाको परिणाम नभई निरन्तरको राजनीतिक प्रक्रियाको नतीजा भएको उनको भनाइ थियो।
थापाले मुलुकमा जनता असन्तुष्ट रहेको स्वीकार गरे तापनि सरकारप्रति पूर्ण असन्तुष्टि नरहेको दाबी गरे। यसअघि, बैठकमा प्रचण्डले सत्तारूढ दल र सरकारकै कमजोरीका कारण मुलुकमा प्रतिगामी शक्ति र राजावादीहरू सक्रिय हुँदै गएका साथै जनतामा असन्तोष बढेको बताएका थिए।