• २०८३ असार ३२
  • 2026 July 16, Thursday

प्रधानमन्त्री ओली: संविधान संशोधनमार्फत भएपनि कानुनी राजको स्थापना गर्नुपर्छ!

  • २०८१ फागुन २७, मङ्गलबार १६:४६

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा सम्बोधन गर्दै संविधान संशोधन गरेर भएपनि कानुनी राजको स्थापना गर्नुपर्ने बताएका छन् । कोशी प्रदेश सभामा बोल्दै उनले, कानुनी राज्य स्थापना गर्नका लागि न्यायोचित कानुनहरू बनाउन आवश्यक भएको बताए । उनले थपे, “पञ्चायत र राणा शासनका बेला जनताले न्याय पाएका थिएनन्, अब जनताको पक्षमा कानुन बनाएर कानुनी राज्य स्थापित गर्नुपर्छ।”

प्रधानमन्त्री ओलीले नेपालको भविष्यको बारेमा आफ्नो दृष्टिकोण पनि व्यक्त गरे। “हामी कुनै हालतमा पछाडि फर्कन सक्दैनौं। हामीले मदन भण्डारी लोक मार्ग बनायौं र विकास निर्माणका काम सुरु गर्यौं,” उनले भने।

उनले हालको व्यवस्थामा सुधार ल्याइएको भए पनि, केही व्यक्तिहरुले अव्यवस्था र अपरिवर्तित अवस्था प्रस्तुत गर्न खोजिरहेको भनेर पनि आलोचना गरे। “हामीले धेरै वर्षमा सम्पन्न गर्न नसकेका कामलाई पछिल्ला केही वर्षहरुमामा पूरा गरेका छौं,” उनले दाबी गरे।

ओलीले कोशी प्रदेशमा उच्च साक्षरता दरको उल्लेख गर्दै, “समृद्धि केवल गरिबी हटाउनु मात्र होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी र विकासमा सुधार ल्याउने प्रक्रिया हो,” भनेर बताएका छन्। उनले भने, “समृद्धि हासिल गर्नका लागि उद्यमशीलता र रोजगार सिर्जनामा जोड दिइरहेका छौं।”

प्रधानमन्त्री ओलीले सबै नेपालीलाई सुखी बनाउनका लागि समर्पित रहने बताउँदै, “अब हामी रोजगारीका अवसर सिर्जना गर्ने प्रयासमा छौं,” भनेर पनि भनेका छन् ।

  • २०८१ फागुन २७, मङ्गलबार १६:४६