रौतहटमा होलीको रौनक, सभ्य रुपमा मनाउन सुझाव

काठमाडौ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु अर्थात् होली पर्व रौतहटमा दुई दिन मनाइन्छ ।यहाँको उत्तरी भेगमा फाल्गुन २९ गते बिहीबार र दक्षिण भेगमा चैत १ गते शुक्रबार मनाउने गरिन्छ । चन्द्रपुर नगरपालिका क्षेत्रसहितमा आज उल्लाहसपूर्वक यो पर्व मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलो गर्ने र सामुहिक रूपमा नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय कुमार काफ्लेले होली पर्वको मौलिक बिशेषता रहेकाले यसलाई सभ्य रुपमा मनाउनुपर्ने बताएका छन् ।होली पर्वको अवसरमा कार्यलय परिसरमा आयोजित एक कार्यक्रममा उनले रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाव वृद्धिको पर्वको रुपमा लिने गरिएकाले सभ्य रुपमा मनाउनुपर्ने बताए ।

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि जयसवालले जातजाति र वर्ग भेदभाव नगरी सबै मिलेर होली पर्व मनाउने परम्परा सदियौँदेखि जीवित रहँदै आएको बताए ।प्राकृतिक सौन्दर्य र रस रङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड भएकाले खुलेर मनाउनु पर्नेमा उनले जोड दिए ।यसैगरि नेपाल पत्रकार महासंघ रौतहट शाखाले बुधवार होली मिलन कार्यक्रम गरि यहाँका विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, व्यापारी र संचाकरर्मीलगायतसंग शुभकामना आदन प्रदान गरि मनाएको छ ।

होली पर्वको किंवदन्ती र धार्मिक परम्परा
त्रेतायुगमा भगवान् राम र सीताले कञ्चन वनमा रङ्ग अबिर खेलेको मान्यता अनुरूप श्रद्धालुले फागुको थालनी भएको धार्मिक परम्परा रहेको छ । अर्को प्रसङ्गमा हिरण्यकशिपले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो चाड कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्डा आदिका कथा माध्यमले फागु, फगुवा, होली, होरी नाउँबाट पुकार्न थालिएको हो । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१