शब्दकोश लेखक शिव न्यौपानेलाई विद्यालयहरूको सम्मान

काठमाडाैं । नेपालका सार्वजनिक विद्यालयहरूले प्रख्यात लेखक शिव न्यौपानेको जीवनीलाई आफ्नो परीक्षा प्रश्नपत्रमा समावेश गर्दै उनलाई ठूलो सम्मान प्रदान गरेका छन् । अष्ट्रेलियाको इतिहासमा पहिलो नेपाली मूलका शब्दकोश लेखकका रूपमा स्थापित न्यौपानेले यस सम्मानलाई आफ्नो फलाङ खाद्य शब्दकोशको लागि महत्वपूर्ण समर्थनको रूपमा लिएका छन् ।

शिव न्यौपाने गल्याङ नगरपालिका, स्याङ्जामा जन्मेका हुन् । उनले नेपालको पहिलो खाद्य शब्दकोश प्रस्तुत गर्दै नेपाली खानपान संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेका छन् । विद्यालयहरूले उनको जीवनीलाई मान्यता दिएपछि उनले भने, “मलाई गर्व छ कि मेरो कार्यलाई विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । यसले मलाई अझ प्रेरित बनाउनेछ ।”

उनका अनुसार, फलाङ खाद्य शब्दकोश नेपाली खानपान परम्परालाई संरक्षण गर्ने र अन्तर्राष्ट्रिय पाठकहरूलाई यसको विशेषता बुझ्न सहायता पुर्‍याउने महत्त्वपूर्ण प्रयास हो । यही कारण, अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनले सन् २०२१ मा यस शब्दकोशको खुलेर प्रशंसा गरेका थिए । उनले नेपालका खानपान संस्कृति र परम्परालाई प्रवर्द्धन गर्न यो शब्दकोश महत्त्वपूर्ण भएको बताएका थिए ।

शिव न्यौपाने बहुप्रतिभाशाली लेखक हुन् । उनले फलाङ अंग्रेजी शब्दकोश पनि प्रकाशित गरिसकेका छन् । सन् २०१५ मा, अष्ट्रेलियाका वर्तमान उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले उनलाई अष्ट्रेलियाको इतिहासमा शब्दकोश लेख्ने पहिलो अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा सम्मान गरेका थिए । उनको साहित्यिक योगदानका कारण उनले राष्ट्रिय गौरव पुरस्कार र पृथ्वी उत्कृष्टता पुरस्कार समेत प्राप्त गरेका छन् ।

न्यौपानेले विगत पच्चीस वर्षदेखि विभिन्न पत्रपत्रिकामा स्तम्भ लेख्दै आएका छन् । उनी हाल अमेरिकी र अष्ट्रेलियाली पत्रपत्रिकामा समेत योगदान पुर्‍याइरहेका छन् । उनले नेपाली सुपरस्टार राजेश हमाल, बलिउड अभिनेता आमिर खान, नासाका वैज्ञानिक नील डेग्रास टायसन, अमेरिकी लेखक कर्नेल वेस्ट, र बेलायती लेखक डगलस मुआरे जस्ता ख्यातिप्राप्त व्यक्तित्वहरूसँग अन्तर्वार्ता लिएका छन् ।

उनले नेपाली मूलका बीबीसी मास्टर शेफ सन्तोष शाह र विश्व प्रसिद्ध शेफ गोर्डन रामसेसँग पनि पाककला विषयमा अन्तरक्रिया गरेका छन् । पाककला र शब्दकोश लेखनमा विशेषज्ञता हासिल गरेका शिव न्यौपाने नेपाली भाषा, संस्कृति, र खानपान प्रवर्द्धन गर्ने एक विशिष्ट व्यक्तित्वका रूपमा चिनिन्छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१