
काठमाडौ। चीनले फेरि एकपटक अमेरिकाबाट आयात हुने वस्तुहरूमा भन्सार शुल्क थप बढाएको छ। अब चीनले अमेरिकाका सामानमाथि १२५ प्रतिशत भन्सार शुल्क लागु गर्ने निर्णय गरेको छ। यसअघि बुधबार चीनले ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो। नयाँ शुल्क शनिबारदेखि लागू हुने जनाइएको छ।
अमेरिका र चीन बीचको व्यापार युद्ध झन् चर्किरहेको छ। अमेरिकी सरकारले चीनका सामानमाथि १४५ प्रतिशत भन्सार शुल्क लागू गरेपछि चीनले १२५ प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो। चीनका वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, “यदि अमेरिका फेरि भन्सार शुल्क बढाउँछ भने हामी त्यसको जवाफमा थप कदम उठाउने छैनौँ।” उनले यसलाई अन्तर्राष्ट्रिय व्यापार नियमको गम्भीर उल्लङ्घन भन्दै आलोचना गरे र यसलाई एकपक्षीय दबाब र धम्कीको नीति भने।
चीनका अधिकारीले भनेका छन्, “यदि यो प्रतिस्पर्धा यसरी चलिरह्यो भने, यो केवल मजाक बनाइनेछ।” उनका अनुसार, अमेरिकाको यो कदम केवल चीनमाथि प्रयोग गरिएको दबाब र ध्वंशलाई उजागर गर्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता चीनमाथि ३४ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, जसको कार्यान्वयन अप्रिल ९ मा हुने भनिएको थियो। तर, यस निर्णयको केही घण्टा अघि नै ट्रम्पले भन्सार शुल्क ५० प्रतिशतले बढाउने नयाँ घोषणा गरेका थिए।
यसको जवाफमा चीनले ८४ प्रतिशत भन्सार शुल्क थप गरेको थियो। त्यसपछि, बिहीबार अमेरिकाले चीनमाथि भन्सार शुल्क १४५ प्रतिशत पुर्याउने घोषणा गर्यो, र अन्य देशहरूलाई ९० दिनको छुट दिँदै १० प्रतिशत समान दरको भन्सार शुल्क लागू गर्ने निर्णय पनि गर्यो।
सी जिनपिङको दृढ प्रतिक्रिया
भन्सार शुल्कको बढ्दो विवादका बीच, चीनका राष्ट्रपति सी जिनपिङले पहिलोपटक यो विषयमा टिप्पणी गरे। उनले भने, “चीन कसैसँग डराउँदैन। विगत ७० वर्षको प्रगति हाम्रो परिश्रम र आत्मनिर्भरताको नतिजा हो।” उनले थपे, “चीन कहिल्यै अरूको दानमा निर्भर रहेन, न त कहिल्यै कसैको दबाबमा झुक्यो।”
चीन भ्रमणमा रहेका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँगको भेटघाटमा सीले भने, “दुनियाँविरुद्ध जानु भनेको आफैंविरुद्ध जानु हो।” सान्चेजले ट्रम्पको भन्सार शुल्क वृद्धि नीति कडा आलोचना गर्दै भनेका छन्, “ट्रम्पका निर्णयहरूले युरोपलाई नयाँ बजार खोज्न बाध्य बनाउनेछन् र युरोप र चीनबीचको सम्बन्धलाई अझ मजबुत बनाउनु पर्ने आवश्यकता देखिन्छ।”