उडानको क्रममा भारतीय वायु सेनाको विमानमा साइबर हमला

काठमाडौँ । उडिरहेको अवस्थामा भारतीय वायु सेनाको एक विमान साइबर हमलाको सिकार बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। म्यानमारमा भूकम्प पीडितका लागि राहत सामग्री बोकेर गइरहेका बेला विमानको ‘जीपीएस सिग्नल’मा ‘स्पूफिङ’ (नक्कली सिग्नल प्रवाह) गरिएको बताइएको छ।

साइबर हमलाको उद्देश्य विमानलाई गलत दिशातर्फ डोर्याउने रहेको र पाइलटको तिव्र सुझबुझकै कारण सम्भावित दुर्घटना टरिएको उल्लेख गरिएको छ। ‘स्पूफ’ गरिँदा वास्तविक जीपीएस सिग्नलको ठाउँमा झुटा सिग्नल प्रवाह हुन्छ, जसले पाइलटलाई सही मार्ग पहिल्याउन कठिन बनाउँछ र दुर्घटनाको जोखिम बढाउँछ।

भारतीय वायु सेनाका अनुसार पाइलटले तत्काल ‘ब्याकअप नेभिगेसन प्रणाली’ प्रयोग गरी विमानलाई सुरक्षित रूपमा निर्धारित गन्तव्यमा पुर्‍याउन सफल भएका थिए। यद्यपि, यो घटना कहिले भएको हो भन्ने स्पष्ट गरिएको छैन।

भारतले म्यानमारमा गएको भूकम्पपछि पीडितका लागि २९ मार्चमा पहिलो राहत सामग्री पठाएको थियो। त्यस क्रममा ‘सी–१३० जे’ विमान प्रयोग गरिएको थियो भने त्यसपछि ‘सी–१३० जे’ र ‘सी–१७ ग्लोबमास्टर–३’ विमानमार्फत पटक–पटक राहत सामग्री पठाइएको थियो।

साइबर हमला कसले गरेको हो भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन। भारतीय वायु सेनाले यस घटनाको अनुसन्धान गरिरहेको बताइएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१