काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश विदुर कोइरालाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ अगाडि बढाइएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल चैत २८ गते मेयर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो।
अनुसन्धानका क्रममा थापाले घर-जग्गा खरिद, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी, जीवन बिमा प्रिमियम, विभिन्न कम्पनीहरूमा गरिएको लगानी, अध्ययन खर्च, शेयर खरिद, सवारी साधन खरिद, सेवा दस्तुर तिर्ने खर्च र बैंक मौज्दात लगायत गरी जम्मा १३ करोड २० लाख ३ हजार ३९१ रुपैयाँ ८४ पैसा खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ।जसमध्ये पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ ६६ पैसाको स्रोत नखुलेको भन्दै आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो।