
काठमाडौँ । चीनले अमेरिकाबाट आयात हुने वस्तुहरूमा १२५ प्रतिशतसम्मको ट्यारिफ (अतिरिक्त भन्सार महसुल) लगाएको जवाफमा, अमेरिका सरकारले चीनमा लागू हुने २४५ प्रतिशतको ट्यारिफ घोषणा गरेको छ। ह्वाइट हाउसबाट जारी गरिएको एक दस्तावेजअनुसार, चीनको प्रतिशोधात्मक कदमको प्रत्युत्तरस्वरूप अब चीनले अमेरिकी बजारमा सामान पठाउँदा २४५ प्रतिशतसम्मको शुल्कको सामना गर्नुपर्नेछ।
यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित खनिज र ती खनिजबाट बनेका उत्पादनहरूमाथिको अमेरिकी निर्भरताले राष्ट्रिय सुरक्षामा पार्न सक्ने सम्भावित असरको अनुसन्धान गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि सार्वजनिक गरिएको हो।दस्तावेजमा ट्रम्पको भनाइ उद्धृत गर्दै उल्लेख गरिएको छ, “विदेशी महत्त्वपूर्ण खनिजहरूमा अत्यधिक निर्भरता र ती खनिजका निम्न गुणस्तरका उत्पादनहरूले अमेरिकी रक्षा क्षमता, पूर्वाधार विकास तथा प्रविधि नवप्रवर्तनलाई गम्भीर खतरामा पार्न सक्छ।”ट्रम्प प्रशासनले सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लागू गरेको र अमेरिका सँग सबैभन्दा ठूलो व्यापार घाटा भएका देशहरूमा त्यसअनुसार उच्च दरमा भन्सार शुल्क लगाइएको जनाएको छ।
ह्वाइट हाउसका अनुसार, ७५ भन्दा बढी देशहरूसँग नयाँ व्यापार सम्झौता गर्न संवाद अघि बढिसकेको छ, र ती छलफल जारी रहेसम्म ती देशहरूसँगको ट्यारिफ अस्थायी रूपमा स्थगित गरिएको छ।तर चीनले यथास्थितिमा बदला लिएको भन्दै, अमेरिकी बजारमा आउने चिनियाँ सामानहरूमा २४५ प्रतिशतसम्मको ट्यारिफ लगाइने स्पष्ट गरिएको छ। केही महिनाअघि चीनले ग्यालियम, जर्मेनियम, एन्टिमोनी लगायतका सैन्य तथा उच्च प्रविधिमा प्रयोग हुने महत्वपूर्ण खनिजहरूको अमेरिका निर्यातमा प्रतिबन्ध लगाएको थियो।हालै चीनले थप ६ किसिमका दुर्लभ धातु र चुम्बकहरूको निर्यात रोकेको पनि उक्त दस्तावेजमा उल्लेख छ। ह्वाइट हाउसले यस कदमले विश्वभरका अटोमोबाइल निर्माता, एयरोस्पेस कम्पनी, स्वचालित प्रविधि उत्पादक र सैन्य ठेकेदारहरूको लागि आवश्यक कम्पोनेन्ट आपूर्तिमा असर पर्ने दाबी गरेको छ।