
काठमाडौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर र मातहतका ट्राफिक युनिटहरूले सवारी नियम उल्लंघन गर्ने विरुद्ध सञ्चालन गरेका अभियानबाट ९ महिनामा १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन्।
गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा नियम विपरीत सञ्चालनमा रहेका ११ हजार ४८९ सवारीसाधनलाई कारबाही गर्दै कुल १ करोड ७ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले जानकारी दिए।सोही अवधिमा जिल्लाभर ५४९ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।
ती दुर्घटनामा ३८ जनाको ज्यान गएको छ भने ६६ जना गम्भीर घाइते र ८३६ जना सामान्य घाइते भएका छन्।दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय, सडक र सार्वजनिक स्थानहरूमा दुई हजार ३९९ वटा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ, जसमा ५३ हजार ९३६ जना सहभागी भएका थिए। जनशक्ति अभावका बावजुद पनि ट्राफिक प्रहरीले मुख्य पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमती, चन्द्रनिगाहपुर, गौर–चन्द्रपुर सडकखण्डका साथै दुमारिया, गरुडा, शिवनगर, सुकदेव चौक, बमनहर, गौरलगायतका ग्रामीण क्षेत्रहरूमा समेत ट्राफिक प्रहरी परिचालन गरेको जनाएको छ।