रोल्पामा कुकुरलाई झुन्ड्याएर क्रुर तरिकाले हत्या

काठमाडौं । सामाजिक सञ्जालमा हालै भाइरल भएको एउटा भिडियोले आम मानिसको मन विचलित बनाइरहेको छ। उक्त भिडियोमा रोल्पाको लुङग्री गाउँपालिका–७ हारजङ गाउँमा एक निर्दोष कुकुरलाई रुखमा झुन्ड्याएर अमानवीय तरिकाले मारिएको देखिन्छ।

भिडियोमा देखिएअनुसार तीन युवाहरू मध्ये एक जना रुखमा चढेका छन्, अर्का एकजनाले घटनाको भिडियो खिचिरहेका छन्, र तेस्रोले कुकुरलाई पासो लगाएका छन्। कालो रङको स्थानीय जातको उक्त कुकुर असह्य पीडामा छटपटाउँदै डोरीबाट उम्किन खोज्छ, तर युवाहरू उल्टै रमाइरहेका देखिन्छन्।भिडियो टिकटकमा ‘सुन्दर परियार’ नामक एकाउन्टबाट दुई दिनअघि पोस्ट गरिएको हो। स्थानीयहरूले कुकुरलाई कुनै कसुरबिना यसरी झुन्ड्याएर मारेको बताएका छन्।

प्रहरीले घटनाको जानकारी पाउनेबित्तिकै अनुसन्धान सुरु गरेको हो। रोल्पा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहित कुमार शाहीका अनुसार, तीनमध्ये दुई जना — ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन — लाई पक्राउ गरिएको छ। तेस्रो युवा, २० वर्षीय सुन्दर परियार अझै फरार छन्, र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिए।प्राथमिक अनुसन्धान अनुसार, कुकुरलाई झुन्ड्याएर मारेपछि खोलामा फालिएको बताइएको छ। प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ।

मुलुकी अपराध संहिता २०७५ अनुसार, कुनै जनावरमाथि क्रूरतापूर्वक व्यवहार गर्न वा मर्नेसम्मको यातना दिनु अपराध हो। यस्तो कार्य गर्नेहरूलाई तीन महिनासम्मको कैद वा पाँच हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ।प्रहरीका अनुसार, उक्त अमानवीय घटनामा संलग्न तीनै जनालाई कानुनी दायरामा ल्याइनेछ। सामाजिक सञ्जालमा घटना बाहिरिएपछि देशभरबाट ती युवाहरूको आलोचना भइरहेको छ। यस्ता क्रूर क्रियाकलाप रोक्न र जनावरप्रतिको संवेदनशीलता बढाउन समाजको चेतना अभिवृद्धि आवश्यक देखिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१