
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आउँदै छन्।
उनी दिल्लीमा ओर्लिनुअघि नै स्वागतको तयारी तीव्र बनाइएको छ। राजधानीका विभिन्न स्थानमा भेन्सको स्वागतका लागि ठूला–ठूला होर्डिङहरू राखिएका छन् भने सुरक्षा व्यवस्था कडा पारिएको छ। भेन्स भारतीय मूलकी पत्नी ऊषा र तीन सन्तानसहित आज बिहान भारत आइपुग्नेछन्।
उनीहरू दिल्ली आइपुगेपछि पहिलो भ्रमणस्थलको रूपमा परिवारसहित स्वामीनारायण अक्षरधाम मन्दिर जाने कार्यक्रम रहेको छ। साँझ ६:३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासमा उपराष्ट्रपति भेन्स र उनको परिवारको स्वागत गर्नेछन्।
प्रधानमन्त्री मोदीद्वारा रात्रिभोज, त्यसपछि वार्ता
प्रधानमन्त्री मोदीले जेडी भेन्सको सम्मानमा आज साँझ रात्रिभोज आयोजना गरेका छन्। डिनरपछि भारत–अमेरिका द्विपक्षीय वार्ता हुनेछ।
भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री तथा भारतका लागि अमेरिकी राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन्।भेन्स पाँच सदस्यीय अमेरिकी टोलीसहित भारत आउँदै छन्। भ्रमणको क्रममा उनी आगरा र जयपुर पनि जानेछन्।
व्यापार, ट्यारिफ र रक्षा छलफलको मूल विषय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भारतसहित ६० देशमाथि ट्यारिफ (आयात शुल्क) लगाइएकै सन्दर्भमा जेडी भेन्सको भारत भ्रमणलाई विश्लेषकहरूले निकै संवेदनशील मानिरहेका छन्।
दुवै देशबीच व्यापार, शुल्क, आयातमा रहेका अवरोध तथा क्षेत्रीय सुरक्षाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ।भेन्सको यो भ्रमणलाई भारत–अमेरिका व्यापार सम्झौताको पहिलो चरणलाई निष्कर्षमा पुर्याउने दिशामा महत्त्वपूर्ण कडिको रूपमा हेरिएको छ। सन् २०३० सम्ममा दुई देशले आपसी व्यापार ५०० अर्ब अमेरिकी डलरसम्म पुर्याउने लक्ष्य राखेका छन्।
भ्रमण तालिका यसप्रकार छ :
२१ अप्रिल (आज): दिल्ली आगमन, अक्षरधाम मन्दिर भ्रमण, मोदी निवासमा स्वागत र रात्रिभोज।
२२ अप्रिल: जयपुर भ्रमण – आमेर फोर्ट, सिटी प्यालेस, जन्तर मन्तर अवलोकन र इन्टरनेसनल बिजनेस समिटमा सहभागिता।
२३ अप्रिल: आग्राको ताजमहल अवलोकन, त्यसपछि पुनः जयपुर फिर्ता।
२४ अप्रिल: अमेरिका प्रस्थान।
भेन्सकी पत्नी ऊषाको पहिलो भारत भ्रमण
भेन्सका साथ उनकी पत्नी ऊषा र तीन सन्तान पनि छन् – इवान, विवेक र मीराबेल। भारतीय मूलकी ऊषाका बाबुआमा आन्ध्र प्रदेशको पूर्वी गोदावरी र कृष्णा जिल्लाका हुन्, जो पछि अमेरिका बसाइँ सरेका थिए। यद्यपि ऊषाको जन्म अमेरिकामै भएको हो, यो उनको पहिलो भारत भ्रमण हो। उनी यस भ्रमणप्रति निकै उत्साहित रहेको बताएकी छन्।