
काठमाडौं । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरी बलले गोताखोर टोली परिचालन गरेको छ।
सोमबार बिहान खोटाङको केपिलासगढी गाउँपालिका–४ निवासी ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी निवासी १६ वर्षीय जेनिश आचार्य सप्तकोसीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।
उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर–१ बाहिनी मुख्यालय, सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पाँच सदस्यीय गोताखोर टोली खटाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। गोताखोर टोलीले घटनास्थल आसपासको क्षेत्रमा खोजी कार्य सुरु गरिसकेको छ।