
काठमाडौं। भारतको जम्मू-कश्मीर राज्यको पहलगाम क्षेत्रमा आतंककारी हमलामा एक नेपाली नागरिकसहित २७ जनाको मृत्यु भएको छ। दैनिक भाष्करका अनुसार पर्यटकलाई लक्षित गरी भएको उक्त हमलामा एक नेपाली, एक यूएई नागरिक र दुई स्थानीयसहित २७ जनाको मृत्यु भएको जानकारी दिइएको छ।
मृतकको सूचीमा नेपाली नागरिक सन्दिप न्यौपानेको नाम रहेको छ। अर्काे नाम, बितन अधिकारी, नेपाली वा अन्य कुनै देशका नागरिक हुन् भन्ने बारे स्पष्ट जानकारी छैन। त्यसैले हालसम्म एक नेपाली नागरिकको मृत्यु पुष्टि भएको छ।नेपाल सरकारको तर्फबाट भने यस घटनाबारे कुनै आधिकारिक जानकारी हालसम्म सार्वजनिक गरिएको छैन।
जम्मू कश्मीरको पहलगाम क्षेत्र स्थित बैसारनमा पर्यटकमाथि मंगलबार आतंककारीहरूले गोली प्रहार गरी हत्या गरेको दैनिक भाष्करले जनायो। बैसारन पहलगामबाट ६ किलोमिटरको दुरीमा पर्छ र यो स्थान ‘मिनी स्विट्जरल्यान्ड’को रूपमा प्रसिद्ध छ। यस क्षेत्रलाई पर्यटकहरूको मनपर्ने गन्तव्य मानिन्छ।घटनामा पर्यटकहरूलाई नाम सोधेर गोली हान्ने घटनाको विवरण आएको छ। मारिनेहरूमा नेपाल र यूएईका नागरिकहरू, साथै भारतीय राज्य गुजरात, महाराष्ट्र, कर्नाटका, तमिलनाडु र ओडिशाका नागरिकहरू रहेका छन्।
दैनिक भाष्करले घटनामा २७ जनाको मृत्यु भएको जनाएको छ भने केही मिडियाले २६ जना मृतक भएको बताएका छन्।सन् २०१९ को फेब्रुअरीमा जम्मू कश्मीरको पुलवामा क्षेत्रमा भएको आतंकी हमलामा ४० भारतीय सैनिकको मृत्यु भएको थियो।भारतको राजधानी दिल्ली र मुम्बई लगायतका शहरहरूमा उक्त हमलापछि उच्च सुरक्षा सतर्कता राखिएको छ।यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरब भ्रमणमा रहेका थिए। आतंककारी हमलाको जानकारी पाएपछि उनी आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किन लागेका छन्, द हिन्दूले जनाएको छ।