
काठमाडौं ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा शुरू गरिएको भन्सार युद्धको असर अमेरिकी विमान निर्माता बोइङमाथि प्रत्यक्ष रूपमा पर्न थालेको छ। चिनियाँ एयरलाइन्सका लागि तयार पारिएका बोइङका ‘७३७ म्याक्स ८’ विमानहरू चीनले धमाधम फिर्ता पठाउन थालेको हो।सोमबार चीनले डेलिभरीका लागि तयार गरिएको एक बोइङ विमान अमेरिका फिर्ता पठाएको रोयटर्सले जनाएको छ।
ट्रम्प प्रशासनले चीनमाथि भन्सार शुल्क बढाएपछि, चीन सरकारले आफ्नो एयरलाइन्सहरूलाई बोइङको नयाँ विमान नलिन र आवश्यक पाटपुर्जा खरिद समेत नगर्न निर्देशन दिएको थियो।‘जस्तालाई त्यस्तै’ नीति अनुसार चीनले सोमबार दोस्रो बोइङ विमान पनि अमेरिका फिर्ता पठाएको हो। उडान ट्र्याकिङ प्लेटफर्म एयरनाभ राडारका अनुसार, झाउसान कम्प्लीसन सेन्टरबाट छुटेको सो विमान अमेरिकी क्षेत्र गुआममा अवतरण गरिएको थियो।
झाउसान कम्प्लीसन सेन्टरमा बोइङले चिनियाँ ग्राहकका लागि विमानको अन्तिम तयारी पूरा गर्दै आएको छ।त्यसअघि, आइतबार सियामेन एयरलाइन्सका लागि तयार गरिएको अर्को बोइङ ७३७ म्याक्स विमानले झाउसानबाट फर्केर सिधै सियाटलस्थित बोइङ फिल्डमा अवतरण गरेको थियो। सो विमान एक महिनाअघि मात्र सियाटलबाट चीनतर्फ उडाइएको थियो।बोइङको सबैभन्दा लोकप्रिय मोडेल ७३७ म्याक्स जेटहरूको यसरी फिर्ता पठाइनु नयाँ विमान डेलिभरीमा देखिएको अवरोधको संकेतका रूपमा हेरिएको छ।