
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा बागलुङ बजारमा २ दिने सहकारीमा दिगो वित्तीय व्यवस्थापन तालिमको सुरुवात भएको छ ।
जिल्लामा क्रियाशिल सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरुलाई दिगो वित्तीय व्यवस्थापनको अवधारण, सहकारीका वर्तमान जोखिम, परिवर्तीत नीति, नियम, वित्तीय विश्लेषण र व्यवस्थापन लगायतका विषयमा क्षमता वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी एवं तालिमका प्रशिक्षक सहकारी अभियान्त केशवप्रसाद पोखरेलले तालिमको उद्घघाटन सत्रमा बोल्दै सहकारी संस्थाहरूको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न दिगो वित्तीय व्यवस्थापन अत्यन्त आवश्यक रहेको बताउनु भयो ।
उहाँले सहकारीहरूमा हाल देखा परिरहेका जोखिमहरू—जसमा ऋण फिर्ता नहुने समस्या, संस्थागत पारदर्शिताको कमी, नियामक निकायका निर्देशहरूको पालना नहुनु जस्ता पक्षहरूलाई समाधान गर्न वित्तीय अनुशासन, पारदर्शिता, नियमित लेखापरिक्षण तथा दीर्घकालीन योजना निर्माणमा जोड दिनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी क्षेत्रलाई मजबुत र आत्मनिर्भर बनाउन दिगो वित्तीय व्यवस्थापन अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले सहकारीहरूलाई सामाजिक र आर्थिक रूपान्तरणको माध्यमको रूपमा हेर्नुपर्ने उल्लेख गर्दै, सहकारीहरू केवल वित्तीय सेवा दिने संस्था मात्र नभएर आर्थिक सशक्तिकरण र समुदाय विकासका आधारशिला भएकाले सही वित्तीय व्यवस्थापन र सुशासन कायम गर्न सबैले गम्भीरता देखाउनुपर्ने विषयमा जोड दिनु भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लि. बागलुङका सल्लाहाकार तेजेन्द्रवहादुर थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
२५ वटा संस्थाका ४५ जनाको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष पौडेल, स्वागत सचिव अर्जुन कँडेल र सञ्चालन सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले गर्नुभएको थियो ।