
काठमाडौँ ।स्पेन र पोर्चुगलमा अचानक विद्युत् आपूर्ति बन्द भएपछि दुवै देशले आपतकालीन अवस्था घोषणा गरेका छन्। विद्युत् अभावका कारण ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरू ठप्प हुँदा करोडौं नागरिक प्रभावित भएका छन्।
सीएनएनका अनुसार, विद्युत् आपूर्ति बन्द भएपछि दुवै देशका सरकारले आपतकालीन बैठक आह्वान गरी प्रतिकार्य योजनाको तयारी थालेका छन्। पोर्चुगलको ग्रिड अपरेटरले विद्युत् आपूर्ति मध्यान्नपछि अवरुद्ध भएको जनाएको छ। यता, फ्रान्सको केही भागमा पनि विद्युत् अवरोध भएपनि केही घण्टामै सेवा बहाल भइसकेको एएफपीले जनाएको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत् अवरोधको कारण अझै खुल्न नसकेको र समस्या समाधानको प्रयास जारी रहेको बताएका छन्। उता, पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले औपचारिक रूपमा ऊर्जा संकटको घोषणा गरेका छन्। पोर्चुगलको ग्रिड अपरेटरले सेवा पुनःस्थापनामा कठिनाइ भइरहेको बताएको छ।
सीएनएनले लेखेअनुसार, ‘विद्युत् अवरोधको कारण प्रस्ट नभए पनि यसको प्रभाव निकै गम्भीर छ।’ म्याड्रिडमा ट्राफिक लाइट बन्द हुँदा सवारीसाधनको लामो जाम भएको उल्लेख गरिएको छ।युरोपेली परिषदका अध्यक्ष तथा पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो कोस्टाले हालसम्म साइबर आक्रमणको संकेत नदेखिएको बताएका छन्। यद्यपि, विद्युत् अवरोधको यकिन कारण पत्ता लगाउने प्रयास तीव्र पारिएको छ।