
काठमाडौं । भारत र पाकिस्तानबीचको सम्बन्ध फेरि एकपटक तनावपूर्ण अवस्थामा पुगेको छ। हालै भारतीय कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि दुई आणविक शक्ति सम्पन्न देशहरू युद्धको सँघारमा पुगेको आकलन गरिएको छ। यसले दक्षिण एसियाको शान्ति र स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ।
पछिल्लो घटना र तनावको सुरुवात
गत अप्रिल २२ मा भारतीय कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना पर्यटकको ज्यान गएको थियो, जसमध्ये अधिकांश भारतीय नागरिक थिए। यो आक्रमणलाई भारतले सीमापार आतङ्कवादू भन्दै पाकिस्तानलाई दोषी ठहर गरेको छ। भारतले दुई सन्दिग्ध आक्रमणकारी पाकिस्तानी भएको दाबी गरेको छ। यद्यपि, पाकिस्तानले यो आरोप अस्वीकार गर्दै आक्रमणमा आफ्नो संलग्नता नभएको बताएको छ। उसले घटनाको निष्पक्ष र पारदर्शी छानबिनू को माग गरेको छ, जसलाई चीनले समेत समर्थन गरेको छ।
आक्रमणपछि भारतले पाकिस्तानसँग कूटनीतिक सम्बन्ध, व्यापार र इन्डस वाटर सन्धि निलम्बन गरेको छ भने सीमा बन्द गरेको छ। जवाफमा पाकिस्तानले पनि भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र सिमला सम्झौता निलम्बन गर्ने चेतावनी दिएको छ। दुवै देशका सेनाले कश्मीरको लाइन अफ कन्ट्रोल ९एलओसी० मा लगातार गोली हानाहान गरिरहेका छन्। अप्रिल २५ देखि सुरु भएको यो झडपमा हालसम्म कुनै हताहत नभए पनि तनाव थप चर्किएको छ।
भारत–पाकिस्तान युद्धको इतिहास
भारत र पाकिस्तानबीचको तनाव नयाँ होइन। सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यी दुई देशको विभाजनसँगै कश्मीर विवाद सुरु भएको थियो। कश्मीरको मुस्लिम बहुल क्षेत्रलाई लिएर दुवै देशले आफ्नो दाबी गर्दै आएका छन्। यो विवादका कारण सन् १९४७, १९६५ र १९७१ मा ठूला युद्ध भएका थिए। सन् १९७१ को युद्धले पाकिस्तानको पूर्वी भाग टुक्रिएर बंगलादेश बनेको थियो। सन् १९९९ मा कारगिल युद्धले पनि दुई देशलाई युद्धको सँघारमा पुर्याएको थियो।
कश्मीरमा लामो समयदेखि भारतविरोधी विद्रोह चलिरहेको छ, जसलाई भारतले पाकिस्तानको समर्थन रहेको आरोप लगाउँदै आएको छ। सन् २०१९ मा भारतले कश्मीरको स्वायत्तता खोसेपछि स्थिति थप जटिल बनेको थियो। त्यसयता भारतले कश्मीरमा ठूलो सङ्ख्यामा सेना तैनाथ गरेको छ, जसले स्थानीय बासिन्दा र पाकिस्तान दुवैलाई असन्तुष्ट बनाएको छ।
सैन्य शक्ति र हालको अवस्था
हालैको एक सर्वेक्षणअनुसार, भारतसँग २,३२३ विमान, ९४३ लडाकु विमान र ९,८१२ बख्तरबन्द गाडी छन् भने पाकिस्तानसँग ९३३ विमान, ३३३ लडाकु विमान र ९,१९४ बख्तरबन्द गाडी छन्। लडाकु हेलिकप्टरमा भने पाकिस्तान अगाडि छ, जससँग ५४ हेलिकप्टर छन्, भारतसँग मात्र २०। यी तथ्याङ्कले दुवै देशको सैन्य तयारीलाई झल्काउँछ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा असिफले अप्रिल २८ मा भारतबाट ूतत्काल सैन्य आक्रमणको खतराू रहेको बताएका छन्। उनले पाकिस्तानले आफ्नो सेना सुदृढ गरेको र कुनै पनि आक्रमणको जवाफ दिन तयार रहेको चेतावनी दिए। उता, भारतीय सेनाले कश्मीरमा ठूलो सङ्ख्यामा सैन्य अभ्यास गरिरहेको छ भने १,५०० भन्दा बढी कश्मीरीलाई पक्राउ गरी उनीहरूको घर ध्वस्त गरेको छ।
अन्तर्राष्ट्रिय चासो र सम्भावित परिणाम
अमेरिका र चीनले दुवै देशलाई संयम अपनाउन आग्रह गरेका छन्। अमेरिकाले ूजिम्मेवार समाधानू को पक्षमा आफू रहेको बताएको छ भने चीनले स्वतन्त्र छानबिनको समर्थन गरेको छ। यद्यपि, विश्लेषकहरूले दुवै देश आणविक शक्ति सम्पन्न भएकाले युद्ध भएमा यसको परिणाम विनाशकारी हुने चेतावनी दिएका छन्।
कश्मीरका स्थानीय बासिन्दा भने यो तनावले आफूहरूको जीवन अझ कठिन बनाउने चिन्तामा छन्। हामी युद्धको अवस्थामा बाँच्न अभ्यस्त छौँ, तर डरको वातावरणले हामीलाई थप सताएको छ, पाकिस्तानी कश्मीरको लन्जोत नजिकैका सामाजिक कार्यकर्ता शौकत अवानले भने।
दुवै देशका सैन्य तयारी र कूटनीतिक कदमले स्थिति जटिल बन्दै गएको छ। युद्धको सम्भावना टार्न र कश्मीर विवादको स्थायी समाधान खोज्न दुवै देशले संवाद र सहकार्यको बाटो अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। तर, अहिलेलाई तनाव कायमै छ, र विश्व समुदायले यो क्षेत्रलाई नजिकबाट नियालिरहेको छ।