“पाकिस्तानमा मिसाइल आक्रमणबारे भारतको औपचारिक प्रतिक्रिया: के भन्यो भारतले ?

भारतले पाकिस्तानमाथिको आक्रमणलाई आतंकवादी हमलाको जवाफी हमला भनेको छ।

भारतले अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी हमलाको जवाफस्वरूप बुधबार बिहान पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यसबारे संक्षिप्त जानकारी दिएको छ ।

विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पहलगाममा भएको हमलामा पाकिस्तानको संलग्नता प्रमाणित हुने यथेस्ट प्रमाण भारतसँग रहेको र सो आक्रमण पर्यटकहरूमाथि केन्द्रित रहेको बताएका छन्। ‘रेसिस्टेन्ट फ्रन्ट’ (RTF) नामक समूहले उक्त हमलाको जिम्मा लिएको र यस समूह लश्कर-ए-तैयबासँग सम्बन्धित भएकाले पाकिस्तानको संलग्नता स्पष्ट भएको उनले पत्रकार सम्मेलन मार्फत  बताएका छन् ।

उनका अनुसार अन्तर्राष्ट्रिय चिन्ता र विश्वासिलो गुप्त सूचना हुँदाहुँदै पनि पाकिस्तानले आफ्नो भूमिबाट सक्रिय आतंकवादी समूहहरूमाथि कुनै कारबाही नगरेको स्पष्ट देखिन्छ। त्यसैले भारतले सीमापारीको आतंकवादको प्रतिकारस्वरूप आक्रमण गरेको हो।

भारतीय सेनाकी कर्नेल सोफया कुरेशीले ‘अपरेशन सिन्दुर’ अन्तर्गत पाकिस्तानका आतंकवादीका आश्रयस्थलहरू, लन्च प्याड, तालिम शिविर र भर्ती केन्द्रहरूमा मिसाइल प्रहार गरिएको जानकारी दिइन्।

यसबीच पाकिस्तानले पनि भारतीय आक्रमणको जवाफ दिने चेतावनी दिएको छ। उसले पाँचवटा भारतीय लडाकु विमान (तीन राफेल र दुई रुसमा बनेका विमान) खसालेको दाबी पनि गरेको छ। यद्यपि भारतले यसबारे कुनै पुष्टि वा प्रतिक्रिया दिएको छैन। यदि पाकिस्तानले गरेको दाबी पुष्टि भएमा, यो दशकौंको सबैभन्दा ठूलो क्षति ठहरिनेछ।

आक्रमणपछि पाकिस्तानको जवाफी बमबारीमा परी १० भारतीयको पनि मृत्यु भएको खुलेको छ। दुवै देशका संवेदनशील क्षेत्रका विद्यालयहरू बन्द गरिएका छन्।

अन्तर्राष्ट्रिय हवाई उडानहरूमा पनि यो हमलाले असर पारेको छ।यसै क्रममा एशिया र युरोपबीचका धेरै उडान रद्द भएका छन् भने कतिपय एयरलाइन्सहरूले रुट परिवर्तन गरेका छन्।

घटनापछि संयुक्त राष्ट्रसंघ, अमेरिका, र चीनले प्रतिक्रिया जनाएका छन्। संयुक्त राष्ट्रसंघले संयम अपनाउन आग्रह गरेको छ भने चीनले आक्रमणप्रति खेद प्रकट गर्दै स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा अन्त्यको आशा व्यक्त गर्दै भारतको यस हमलालाई मुर्खतापुर्ण भनेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१