काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले भारत–पाकिस्तानबीचको बढ्दो तनावको बीचमा त्यहाँ अध्यनरत नेपाली विद्यार्थीहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको आकस्मिक बैठकमा बोल्दै सांसद खनालले कश्मीरमा भएको आतंकवादी हमलाको कडा निन्दा गरे। उनले पाकिस्तानमा रहेका करिब ८० जना नेपाली विद्यार्थीहरूले उद्धारको अनुरोध गरिसकेको जानकारी गराउँदै सरकारलाई तुरुन्त आवश्यक पहल गर्न आग्रह गरे।
खनालले भारत–पाकिस्तानबीच युद्धको सम्भावना बढ्दै गएको परिप्रेक्ष्यमा नेपालले सुरक्षासम्बन्धी जोखिम, आपूर्ति शृङ्खला, आर्थिक प्रभाव र दुवै देशमा रहेका नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर रणनीति बनाउनु पर्ने आवश्यकता औंल्याए।