
काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो क्षेत्रीय तनावप्रति प्रतिनिधि सभा सदस्यहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस प्रकारको अशान्तिले नेपालमा पनि असर पार्न सक्ने भन्दै सरकारले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।
सांसदहरूले क्षेत्रीय अस्थिरता आयात, आपूर्ति शृङ्खला र नागरिक सुरक्षामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच मिसाइल तथा ड्रोन आक्रमण भएका समाचार सार्वजनिक भइसकेका छन्।
उक्त आक्रमणपछि भारतले ‘अपरेसन सिन्दूर’को घोषणा गर्दै बुधबार पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको दाबी गरेको छ। भारतका अनुसार ती हमलामा आतंकवादी शिविरहरूलाई निशाना बनाइएको हो। उता पाकिस्तानले ती आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा ३१ जनाको ज्यान गएको जनाएको छ।
त्यसको जवाफमा पाकिस्तानले बिहीबार उत्तरपश्चिम भारतका १५ भन्दा बढी सैन्य ठेगानामा ड्रोन र मिसाइल आक्रमण गरेको भारतले जनाएको छ। निशानामा परेका स्थानहरूमा अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुज परेका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शिशिर खनालले पहलगाम आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको घटनाको कडा निन्दा गरे। उनले भारत–पाकिस्तानबीचको तनावले नेपालमा सुरक्षा, आर्थिक तथा आपूर्ति शृङ्खलामा असर पार्न सक्ने भन्दै सरकारलाई समयमै योजना बनाउन आग्रह गरे। साथै, पाकिस्तानमा अध्ययनरत ८० जना नेपाली विद्यार्थीहरूले उद्धारको माग गरिसकेको उल्लेख गर्दै तत्काल उद्धार प्रक्रिया अघि बढाउनुपर्ने बताए।
सांसद शेरबहादुर कुँवरले दक्षिण एशियामा अशान्तिको संकेत देखिएको भन्दै नेपालले आतंकवादका सबै रूपको विरोध गर्नुपर्ने धारणा राखे। उनले भारतमा रहेका लाखौँ नेपालीको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने बताए।सांसद सरस्वती सुब्बाले भारत–पाकिस्तान तनावको असर नेपालमा पर्न सक्ने भन्दै, खुला सिमाना, कूटनीतिक असन्तुलन र सुरक्षा चुनौतीबारे सरकार सचेत रहनुपर्नेमा जोड दिइन्। उनले यस्तो संवेदनशील अवस्थामा नेपालले स्पष्ट सुरक्षा रणनीति तय गर्नु जरुरी रहेको धारणा राखिन्।