• २०८३ असार १४
  • 2026 June 28, Sunday

सञ्चार मन्त्रालय स्वदेशमै लाइसेन्स छपाइको तयारीमा

काठमाडौं।

  • २०८२ वैशाख २८, आइतबार १६:२७

काठमाडौं।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वदेशमै छपाइ गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत प्रक्रिया अघि बढाउने तयारीमा जुटेको छ।

आइतबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच भएको छलफलमा स्वदेशमै लाइसेन्स छाप्न सकिने विषयमा अनौपचारिक सहमति बनेको हो।छलफलमा सञ्चार सचिव राधिका अर्याल, यातायात सचिव केशवकुमार शर्मा र सम्बन्धित अधिकारीहरू सहभागी थिए। छलफलले सुरक्षण मुद्रण केन्द्रमार्फत करिब ३० लाख सवारी चालक अनुमतिपत्र छाप्न सकिने निष्कर्ष निकालेको छ।

सञ्चारमन्त्री गुरुङले स्वदेशमै छपाइ सुरु गर्नु देशको स्वाभिमान, रोजगारी सृजना र राजस्व वृद्धिसँग जोडिएको विषय भएको बताउँदै, छिट्टै छपाइ प्रक्रिया सुरु गरिने जानकारी दिए।यातायातमन्त्री दाहालले पनि सकारात्मक सन्देश दिन र जनविश्वास कायम राख्न स्वदेशमै छपाइ कार्य तत्काल अघि बढाउनुपर्नेमा जोड दिए।सञ्चार सचिवसमेत रहेकी मुद्रण केन्द्रकी अध्यक्ष राधिका अर्यालका अनुसार, मन्त्रालयले प्राविधिक रूपमा लाइसेन्स छपाइ सम्भव हुने निष्कर्ष निकालेको छ।

केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले छलफलका विषयहरू सञ्चालक समितिको बैठकमा प्रस्ताव गरेर लिखित सम्झौता तथा छपाइको मिति तय गरिने बताए।गएको केही समय निष्क्रिय बनेको मुद्रण केन्द्रलाई पुनः सक्रिय बनाउन छपाइ प्रक्रिया थालिएको हो। दुई वर्षअघि भ्रष्टाचार मुद्दा दायर भएपछि केन्द्र नेतृत्वविहीन बनेको थियो।मन्त्री गुरुङले केन्द्रमा आवश्यक प्राविधिक सुधार, कर्मचारी व्यवस्थापन र उपकरण आधुनिकीकरणका लागि आवश्यक तयारी भइरहेको जानकारी पनि दिए। उनले आगामी केही दिनभित्रै लिखित सहमति गरी लाइसेन्स छपाइ सुरु गरिने स्पष्ट पारे।

  • २०८२ वैशाख २८, आइतबार १६:२७