
काठमाडौं । ल्याटिन अमेरिकी राष्ट्र उरुग्वेका पूर्वराष्ट्रपति होसे ‘पेपे’ मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। मुहिका एक पूर्व गुरिल्ला नेता हुन्, जसले सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिको रूपमा सेवा गरेका थिए।
साधारण जीवनशैलीका लागि चर्चित मुहिकालाई ‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’ को उपमा दिइन्थ्यो। उनको निधनको कारण आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन, तर उनी विगत केही समयदेखि खाद्य नलीको क्यान्सरबाट पीडित थिए।
उरुग्वेका वर्तमान राष्ट्रपति यामाण्डु ओरसीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मुहिकाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, “तपाईंले हामीलाई जुन योगदान दिनुभयो र जनताप्रतिको अगाध माया, त्यसका लागि धन्यवाद।”