
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापाविरुद्ध विशेष अदालत र जिल्ला अदालतमा भ्रष्टाचारको चौथो मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार थापा सहित तत्कालीन मधेश प्रदेशका अर्थमन्त्री विजय यादव र अन्य ८ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग र भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो। बिहीबार सर्लाही जिल्ला अदालतमा तेस्रो मुद्दा दायर गरिएको थियो।
थापा र यादवसहित अख्तियारले तत्कालीन उपप्रमुख लिलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने, लेखा अधिकृत विश्वास पोखरेल, मधेश प्रदेशका तत्कालीन कानुन अधिकृत गोकुल भुजेललाई प्रतिवादी बनाएको छ।
अर्थ मन्त्रालयको अनुदानमा नगरपालिकाको ४ र १२ नम्बर वडामा बागमती माछापोखरी निर्माणको निर्णय स्वीकृत गर्दा मिलेमतोमा ५६ करोड ७१ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले ५६ करोड ७० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।