
काठमाडौं। नेपालले आईसीसी महिला टी–२० विश्वकपको एसियाली क्षेत्र छनोट अन्तर्गत सुपर–३ चरणमा यूएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। यो जितसँगै नेपाल पहिलोपटक विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको हो।
थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा सोमबार भएको खेलमा यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान इन्दु बर्माले अविजित ३० रनको योगदान दिँदै टिमको जितमा प्रमुख भूमिका निभाइन्। उनले २८ बलमा २ चौका प्रहार गरेकी थिइन्।
यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। यूएईका लागि ओपनर इशा ओझाले ३९ बलमा ३९ रन (२ चौका, १ छक्का) बनाइन् भने तीर्थ सतीशले २१ रनको योगदान दिइन्।
नेपालका लागि बलिङमा मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिईन्। यसअघि आयोजक थाइल्यान्ड सुपर–३ को एक खेल बाँकी छँदै ग्लोबल छनोटमा पुगिसकेको छ। आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो। नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड र यूएई क्रमशः समूह ‘ए’ र ‘बी’का विजेता हुन्।
सुपर–३ चरणमा तीन टिमले एक–अर्काविरुद्ध एक खेल खेल्नेछन्। नेपाल अब सुपर–३ अन्तर्गत दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ। सुपर–३ को शीर्ष दुई टिमले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन्।विश्वकप ग्लोबल छनोट प्रतियोगितामा १० टिम सहभागी हुनेछन्। हालसम्म बंगलादेश, स्कटल्यान्ड र अमेरिका मात्र छनोट भइसकेका टिम हुन्।