
काठमाडौं। पाकिस्तानको बलुचिस्तान प्रान्तको किल्ला अब्दुल्लाह जिल्लामा आइतबार भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्।
स्थानीय जब्बार बजार नजिकै भएको विस्फोटले आसपासका भवनमा ठूलो क्षति पुयाएको छ। विस्फोटको तीव्रताका कारण धेरै पसलहरू ध्वस्त भएका छन् भने केही प्रतिष्ठानमा आगलागीसमेत भएको द एक्सप्रेस ट्रिब्यू दैनिकले जनाएको छ।
किल्ला अब्दुल्लाहका उपायुक्त रियाज खानका अनुसार विस्फोटमा मारिएका चार जनाका साथै घाइतेहरूमा आदिवासी नेता हाजी फैजुल्लाह खान गाबिजाईका सुरक्षा गार्डलगायत सर्वसाधारण पनि छन्।
बजार सशस्त्र सुरक्षाबल फ्रन्टियर कोर्प्स (एफसी) किल्लाको पछाडि रहेको पर्खालसँग जोडिएको क्षेत्रमै पर्न आउने बताइएको छ। विस्फोटपछि अज्ञात आक्रमणकारी र एफसी जवानबीच गोली हानाहानसमेत भएको र सुरक्षाकर्मीहरूले क्षेत्र नियन्त्रणमा लिएको अधिकारीहरूले जनाएका छन्।
घाइतेहरूको खोजी, उद्धार तथा उपचार कार्य तीव्र पारिएको छ। यस विस्फोट केही दिनअघि बलुचिस्तानकै खुजदार जिल्लास्थित नल क्षेत्रमा अज्ञात बन्दुकधारीको आक्रमणमा चार लेवी सुरक्षाकर्मीको मृत्यु भएको घटनाको केही समयमै भएको हो।