फुटबलर सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा चोक’ नामकरण

काठमाडौं।  लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदीबजार चोकलाई नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा ‘साम्बा चोक’ नामकरण गरिएको छ।

सशस्त्र प्रहरी सहायक हवल्दारसमेत रहेकी सावित्रा भण्डारीको योगदानलाई सम्मान गर्दै सो स्थानमा उनको तस्वीरसहितको ‘साम्बा स्तम्भ’ समेत निर्माण गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नेपाली एपीएफ क्लब र फ्रान्सको शीर्ष डिभिजन क्लब En Avant Guingamp का लागि खेल्दै आएकी सावित्रा स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय फुटबल जगतमा समेत चर्चित खेलाडी हुन्।

‘साम्बा स्तम्भ’को उद्घाटन आइतबार (जेठ ५) मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, वडा अध्यक्ष हरिचन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति र स्थानीयको उपस्थिति थियो।

सो अवसरमा राष्ट्रिय खेलाडी सावित्रा भण्डारीका बुवा–आमालाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो। स्थानीय तहले सावित्राको योगदानलाई स्थायी स्मृति स्वरूप स्थापित गरेर स्थानीय स्तरमा प्रेरणाको स्रोत बनाउने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरिएको बताइएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१