प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आज प्रतिनिधिसभामा हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली सोमबारदेखि अस्वस्थ भएका कारण प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिए।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अस्वस्थ रहेको भन्दै छोटो सम्बोधन गरेका थिए। उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ।
‘प्रधानमन्त्रीज्यू हिजोबाटै अस्वस्थ हुनुहुन्छ, त्यसैले आजको प्रश्नोत्तर कार्यक्रममा उहाँ सहभागी हुनसक्ने सम्भावना छैन,’ बर्तौलाले भने।
आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीलाई विभिन्न प्रश्न सोध्ने कार्यसूची तय गरिएको थियो। तर प्रधानमन्त्री अस्वस्थ भएकाले सो कार्यक्रम स्थगित गरिएको हो।