• २०८३ असार १३
  • 2026 June 27, Saturday

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट: थाइल्यान्डले नेपाललाई १५९ रनको लक्ष्य दियो

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई १५९ रनको चुनौती दिएको छ।

सुपर–३ को शीर्ष दुईमा स्थान बनाइसकेका नेपाल र थाइल्यान्ड दुवै टोलीले विश्व छनोटका लागि छनोट भइसकेका छन्। आजको खेल भने एसिया छनोटको उपाधि कसले जित्ने भन्ने टुंगो लगाउने निर्णायक खेल मात्र हो।

मंगलबार बिहान टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध थाइल्यान्डले २ विकेटको क्षतिमा १५८ रन बनायो। थाइल्यान्डका ओपनर नतायाले ४२ बलमा ५ चौका प्रहार गर्दै ५० रनको अर्धशतक बनाइन्। अर्की ओपनर अपिसाराले २९ रन बनाइन् भने ननापतले अविजित ५० रनको योगदान दिइन्।

नेपालका लागि बलिङमा मनिषा उपाध्याय र राजमति ऐरीले समान १–१ विकेट लिए।

यसअघि सुपर–३ को पहिलो खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै पहिलोपटक महिला टी–२० विश्वकपको विश्व छनोटमा स्थान पक्का गरेको थियो।

अब नेपालले यसै वर्ष हुने विश्व छनोटमा प्रतिस्पर्धा गर्नेछ, जहाँ १० टोलीबीच प्रतिस्पर्धा हुनेछ। तीमध्ये चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।