
६ जेठ, काठमाडौं, विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाले फेरि एक पटक ऐतिहासिक सफलता हासिल गरेका छन्। ‘Hat Trick Challenge’ अन्तर्गत उनले कञ्चनजंघा हिमालको सफल आरोहण गर्दै ८,००० मिटरभन्दा अग्ला ४९ वटा शिखरहरू पार गर्ने कीर्तिमानतर्फ आफूलाई अघि बढाएका छन्।
निम्सदाइले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो सफल आरोहणको जानकारी दिँदै लेखे, “कञ्चनजंघा समिट! Hat Trick Challenge सुरुआत भयो। यो वर्ष निकै कठिन रह्यो। हामीले शिखरसम्म डोरी टाँस्दै गयौं तर अत्यन्त खराब मौसम – घाम नभएको, हिउँले ढाकिएको दृश्य, र तीव्र चिसोका कारण सुरक्षालाई ध्यानमा राख्दै फर्कनुपर्यो।”
यद्यपि अधुरो रहँदैमा थाक्ने उनी होइनन्। “unfinished business” भन्दै उनले पुनः आरोहण गरे र अन्ततः कञ्चनजंघाको शिखर चुम्न सफल भए। उनले टोलीको साहस र एकता प्रति कृतज्ञता व्यक्त गर्दै भने, “टोली एकदमै शक्तिशाली थियो र गर्व लाग्दो रूपमा काम गर्यो।”
यो आरोहण Nimsdai Foundation र मुख्य प्रायोजक SIRM को सहकार्यमा भएको हो। उनले आरोहणमार्फत सहयोग सङ्कलन, हिमाली चेतना विस्तार, र स्थानीय जीवनस्तर सुधारमा योगदान पुर्याउने उद्देश्य लिएका छन्।
निर्मल पुर्जाले सन् २०१९ मा विश्वका सबै १४ वटा ८,००० मिटरभन्दा अग्ला शिखरहरू जम्मा ६ महिनामा चढेर विश्व कीर्तिमान बनाएका थिए। त्यो उपलब्धि पछि उनी विश्व पर्वतारोहणको उच्चतम शिखरमा उभिएका छन्। अहिले उनले आफ्नो व्यक्तिगत ८,००० मिटर शिखर आरोहण संख्या ४९ पुर्याएका छन्, जुन लगातार विश्व कीर्तिमानतर्फको अर्को पाइला हो।
उनी अहिले ‘Hat Trick Project’ अन्तर्गत तीनवटा ८,००० मिटरका शिखरहरू आरोहण गर्ने तयारीमा छन्, जसमा कञ्चनजंघा पहिलो हो।निर्मल पुर्जाको साहस, समर्पण र राष्ट्रिय गौरवले नेपाली पर्वतारोहणको प्रतिष्ठा विश्वभर फैलिएको छ। उनीजस्ता प्रेरणादायी पात्रहरूबाट नेपाली युवा पुस्ताले असम्भवलाई सम्भव बनाउने आत्मविश्वास लिन सक्छन्।