देशको व्यापार घाटा १२ खर्ब ५० अर्ब रुपैयाँभन्दा माथि नाघ्यो

काठमाडौं।  चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म (१० महिना) मा नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यो व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले वृद्धि भएको हो।

गत वर्ष सोही अवधिमा कुल व्यापार १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो।यो वर्षको पहिलो १० महिनामा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ। कुल वैदेशिक व्यापारमध्ये ८७.१२ प्रतिशत हिस्सा आयातको रहँदा १२.८८ प्रतिशत निर्यात भएको विभागले जनाएको छ।

त्यसअनुसार, व्यापार घाटा पनि बढ्दै १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ थियो।वैशाख मसान्तसम्ममा नेपालले १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको तुलनामा १३.११ प्रतिशतले बढी हो।

यसै अवधिमा निर्यातमा उल्लेखनीय सुधार देखिएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँको तुलनामा ७२.७१ प्रतिशतले बढी हो।निर्यात वृद्धिले केही सन्तोषजनक संकेत देखिए पनि, आयातको उच्च दर कायम रहेकाले समग्र व्यापार घाटा अझै ठूलो मात्रामा रहेको देखिन्छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१