‘विदेशीलाई अपार्टमेन्ट बिक्री गर्न दिनुपर्छ, निजगढ विमानस्थल बनाउनुपर्छ’

हामीले विदेशीलाई अपार्टमेन्ट बेच्न नदिने भन्ने तर्क धेरैले दिएका छन्। मैले पनि सुनेको छु—कतिपयको भनाइ छ, “विदेशीले अपार्टमेन्ट किनेर बसे भने नेपालमा गलत वा अवैध धन्दा चल्न सक्छ।” अब म एउटै कुरा सोध्न चाहन्छु—के आज नेपालमा यस्तो गतिविधि छैन त? अवैध काम गर्न खोज्नेले अपार्टमेन्ट किनेर मात्रै गर्छ? अहिले पनि भाडामा लिएको, अरूको नाममा लिएको ठाउँमा त्यस्ता काम हुँदै आएका छन्, हामीले देखिरहेका छौं। छापा परेका घटनाहरू थुप्रै छन्।

बरु, अपार्टमेन्ट बिक्री गरियो भने त्यो सम्पत्ति कस्को नाममा हो भन्ने कुरा स्पष्ट हुन्छ, पारदर्शिता आउँछ, कानुनी रूपमा त्यसको ट्रेस गर्न सकिन्छ। त्यसैले मैले भन्न खोजेको के हो भने, गलत काम गर्नेले जहिल्यै बाटो खोज्छ, तर हामीले सही काम गर्ने बाटो बन्द गर्नु हुँदैन।

अब अर्को कुरा—त्रिभुवन विमानस्थल। हेर्नुहोस्, त्यो अहिलेको आवश्यकता अनुसार सानो छ, बोटल नेक बनेको छ। हामी एक सिमित संख्यामा मात्र पर्यटक ल्याउन सक्छौं। प्लेनहरू होल्ड हुन्छन्, यात्रु हैरान हुन्छन्। यसको समाधान भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हो।

निजगढ विमानस्थल बनेपछि मात्र हामीले साँचिकै टुरिज्म हब बनाउन सक्छौं। काठमाडौं–निजगढ फास्ट ट्रयाक बन्दैछ, ७० मिनेटमै काठमाडौँ पुगिन्छ। गोवामा ९० मिनेट टाढा एयरपोर्ट छ, अझै त्यो चलेको छ। हाम्रो त झन् नजिक छ— यदि आज बन्यो भने, हामीले समृद्ध टुरिज्मको सपना देख्न सक्छौं।

अब कुरा गरौं राष्ट्र बैंकको— ढिलो भए पनि एउटा राम्रो कदम हो। देशमा अन्योलको अवस्था हटेको छ। उहाँ शिक्षित, अनुभवी, अर्थशास्त्री हुनुहुन्छ। हामीलाई लाग्छ, अहिले जुन अर्थतन्त्र चल्न सकेको छैन, बैंकमा ६–७ खर्ब रुपैयाँ थुप्रिएको छ, त्यो पैसा बजारमा जानुपर्ने हो। त्यो न जनताको लागि राम्रो हो, न व्यापारको लागि। म आशावादी छु—उहाँले त्यो तरलता बजारमा ल्याउने काम गर्नुहुन्छ।

अहिलेको युग ग्लोबल युग हो। अमेरिका–चीन ट्रेड वारको असर हामीले पनि महसुस गर्नैपर्छ। नेपाल सधैं फरक किसिमले अघि बढेको हो, तर अहिलेको अवस्थालाई अवसरमा बदल्न सकिन्छ। यो मौका हो। हामीले आफ्नै उत्पादन गरेर अमेरिका जस्ता मार्केटमा पुग्नुपर्छ।

तर यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने, हामीले उत्पादन गर्ने वस्तु त्यस्तो हुनुपर्छ जुन वस्तुका लागि केही हदसम्म कच्चा पदार्थ नेपालमै उपलब्ध होस्। नत्र, बाहिरबाट सबै सामग्री ल्याएर, उच्च लजिस्टिक कस्टमा सामान बनाउने र फेरि एक्सपोर्ट गर्ने—त्यो व्यवहारिक हुँदैन। हस्तकला, खाद्यान्न, हर्बल जस्ता उद्योगमा फोकस गर्नु उपयुक्त हुन्छ।

यति मात्रै होइन, हामीले यदि यस्तो उद्योग सञ्चालन गर्‍यौं भने विदेश गएका युवाहरू फर्केर आफ्नो देशमै काम गर्न पाउँछन्। रोजगारी सिर्जना हुन्छ। यसले देशको अर्थतन्त्र उठाउनेछ।

अन्त्यमा, म यति मात्र भन्न चाहन्छु—नेपालसँग सम्भावना छ। हामीले डर होइन, अवसरको हिसाब गर्नुपर्छ। हामीले सही निर्णय गर्न सके, हाम्रो देश धेरै माथि जान सक्छ। हामी पोजिटिभ सोचले अगाडि बढ्नुपर्छ, र हामीजस्ता व्यवसायीहरू त्यसका लागि सधैं तयार छौं।

हेर्नुहाेस् भिडिओ: 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१