
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर रासायनिक मल कारखाना स्थापनाको लागि लगानी बोर्ड मार्फत विशेष बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार चामल उत्पादनमा आत्मनिर्भर हुन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खाते प्रवर्द्धन कार्यक्रमु सञ्चालन गरिने छ जसले गर्दा थप ४ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको छ।
यसका लागि सिँचाइ पूर्वाधार विस्तार गर्न ३३ करोड रूपैयाँ विनियोजन गरिएको छ। ८० स्थानीय तहमा उच्च मूल्यका बाली खेती प्रवर्द्धनका लागि ८३ करोड रूपैयाँ छुट्याइएको छ।
रासायनिक मलको आपूर्ति निरन्तरता र सहज उपलब्धताका लागि २८ अर्ब रूपैयाँ अनुदानको रूपमा विनियोजन गरिएको छ।
कृषि मन्त्रालयको लागि कुल ५७ अर्ब ५८ करोड बजेट विनियोजन गरिएको छ ।
स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा
सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
उनीहरूलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र त्यसका लागि ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।
जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत घोषणा गरे ।