कुश्मा बजारको घण्टाघर दुई वर्षदेखि तालाबन्दी, नगरपालिका मौन

काठमाडौं।  आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पर्वतको सदरमुकाम कुश्मा बजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा छ।

कुश्मा नगरपालिका–५, बञ्जिसाइडमा नगरपालिकाको रु ८० लाख लागतमा निर्माण भएको यो संरचना अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।गौरवको योजना अन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा सुरु गरिएको घण्टाघरको संरचना निर्माण भइ सके पनि प्रयोगमा ल्याइएको छैन। अहिले टावरमा ताला लगाइएको छ भने बाहिरी भाग जीर्ण हुँदै गएको छ।

स्थानीय व्यवसायी बमबहादुर पुनका अनुसार, पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले निर्माण गरिएको घण्टाघर अनियोजित रूपमा बनाइएको हो, र वरपरका घरभन्दा पनि होचो बनेको छ, जसले दृश्य सौन्दर्यमा असर पुर्‍याएको छ। कुश्मा–५ का वडाध्यक्ष रामहरि चापागाईंले घण्टाघर अघिल्लो कार्यकालमा बनेकाले विस्तृत जानकारी नभएको बताए।

उनका अनुसार, निर्माण सम्पन्न भइसकेको भए पनि दुई वर्षदेखि टावर बन्द अवस्थामा छ।नगरप्रमुख रामचन्द्र जोशीले आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्णता दिने योजना रहेको जानकारी दिए। उपप्रमुख स्वस्थानी रिजालले नगरपालिकाले निर्माण गरेका संरचनालाई संरक्षण र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइन्।

तर प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले भने, निर्माण सकिएर भुक्तानी भइसके पनि प्रयोग हुने घडी नेपालमै उपलब्ध नभएको कारण सञ्चालनमा ढिलाइ भएको दाबी गरे। उनका अनुसार, हालसम्म घण्टाघर सञ्चालनबारे कुनै स्पष्ट योजना वा छलफल भएको छैन।

कुश्मा क्षेत्र अहिले साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ, जहाँ विश्वकै दोस्रो अग्लो बन्जी जम्प र विश्वकै लामो सुपरम्यान शैलीको जिपलाइन अवस्थित छन्। घण्टाघर समयमै सञ्चालनमा ल्याउन सकिएको खण्डमा पर्यटकको आकर्षण थपिने स्थानीय शिशिर पौडेलको भनाइ छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१