गाजामा संयुक्त राष्ट्रसंघका खाद्य ट्रकहरू लुटिए, भागदौडमा २१ को मृत्यु

काठमाडौं। गाजामा भोकमरी चरम अवस्थामा पुगेका बेला सयौँ प्यालेस्टिनीहरूले संयुक्त राष्ट्रसंघ (यूएन)को खाद्य सहायता ट्रकहरू रोकेर जबरजस्ती खाद्य सामग्री लुटेका छन्। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) ले शनिबार जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो।

घटनाक्रम अनुसार, बुधबार इजरायल र अमेरिका समर्थित संस्थाहरूले स्थापना गरेको सहायता वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन्। घाइतेहरूको उपचार रेडक्रस अस्पतालमा भइरहेको जनाइएको छ।

WFP का अनुसार, ७७ ट्रकहरू गाजावासीलाई राहत पुर्‍याउन पठाइएको थियो, तीमध्ये अधिकांश ट्रकहरू पीठोलगायतका खाद्य सामग्रीले भरिएका थिए। तर दर्जनौँ हतियारधारी समूहले ट्रकहरू रोकेर सहायता कब्जामा लिएको र पछि सयौँ हताश सर्वसाधारण समेत उनीहरूसँग सामेल भएको बताइएको छ।

गाजा तीन महिनादेखि इजरायली नाकाबन्दीको चपेटामा छ। पछिल्लो केही दिनयता सीमित मात्रामा सहायता ट्रकहरू गाजामा प्रवेश गर्न पाए पनि आवश्यकताअनुसारको आपूर्ति नपुगेको सहायता संस्थाहरूले जनाएका छन्। विशेषतः बालबालिका र महिला सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गरिएको छ।

यसबीच, इजरायल र हमासबीच युद्धविरामका लागि कूटनीतिक प्रयासहरू जारी छन्। तर गाजाका आम नागरिकको तत्कालीन प्राथमिकता भने जीवित रहने न्यूनतम खाद्य व्यवस्था हो, जसका लागि उनीहरू कुनै पनि उपाय अपनाउन बाध्य भएको सहायता संस्थाहरूले बताएका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१