
काठमाडौं। उदयपुर जिल्लाको पहाडी क्षेत्रका अधिकांश ग्रामीण सडक अविरल वर्षा र पहिरोका कारण अवरुद्ध भएका छन्। शनिबार बिहानदेखि परेको भीषण वर्षाले सडक भत्किनुका साथै कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरेको छ।
सदरमुकाम गाईघाटबाट रौता–सल्ले र रौता–भुटार जाने मुख्य ग्रामीण सडक अवरुद्ध भएको रौता सल्लेका विष्णु पाठकले जानकारी दिए। त्यस्तै, रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी, रामेटार–भदौरे तथा पाँबु क्षेत्रका सडक पनि आवागमनका लागि बन्द भएका छन्।
स्थानीय डिल्लीराम मगरका अनुसार, निरन्तरको वर्षाले सडकमा ठूलो क्षति पुगेको छ। कतिपय ठाउँमा पहिरोले सडक पुरेको छ भने कतिपय ठाउँमा बाढीले सडक बगाएको छ। रौता–मुर्कुची हुँदै डिल्लीबर–माझखर्क जाने सडकसमेत विभिन्न स्थानमा भत्किएर अवरुद्ध भएको स्थानीय दिव्यराज मगरले बताए। माझखर्कका जम्बु शेर्पाका अनुसार, सडक यति बिग्रिएको छ कि मोटरसाइकलसमेत गुडाउन सकिने अवस्था छैन।
त्यस्तै, मुर्कुची–डिल्लीबर–माझखर्क हुँदै लिम्चुङबुङको बासबोटे बराह जाने सडकखण्ड, उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा–बर्रे र डुम्रे–उदयपुरगढी सडकसमेत अवरुद्ध छन्। डुम्रेका गङ्गा मगरले सडक भत्किएका कारण यातायात पूर्ण रूपमा बन्द भएको बताए। प्राविधिक तथा सुरक्षाकर्मी परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको भए पनि निरन्तरको वर्षाले काममा कठिनाइ भएको स्थानीय प्रशासनले जनाएको छ।