
काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न बुधबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।
२ खर्ब १२ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी रहेका बेला राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज अपराह्न ३ बजे बोलकबोल प्रणालीमार्फत ७० अर्ब रुपैयाँ उठाउन लागेको हो।
यो निक्षेप संकलन २१ दिनका लागि हुनेछ, जसको सावाँ तथा ब्याज भुक्तानी आगामी असार ८ गते हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडका गुणात्मक रकममा बोल गर्न सकिनेछ। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा तोकिनेछ।
राष्ट्र बैंकका अनुसार, निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलपत्रमा प्रस्तावित निक्षेप रकम र ब्याजदर (दशमलव पछाडि चार अंकसम्म) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
बोलपत्रको मूल्याङ्कन गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकतामा राखी आह्वान रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। समान ब्याजदर भएका बोलहरू कुल रकमभन्दा बढी परेमा ‘प्रो-रेट आधार’मा बाँडफाँट हुनेछ। राष्ट्र बैंकले सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकृत वा अस्वीकार गर्ने अधिकार आफूमा सुरक्षित राखेको छ।
स्वीकृत बोलपत्रअनुसारको रकम सम्बन्धित काउण्टर पार्टीको खाताबाट काटी, छुट्टै खातामा जम्मा गरिनेछ। यदि निष्कासनको दिन काउण्टर पार्टीको खातामा पर्याप्त मौज्दात नभएमा ती संस्था कालोसूचीमा परेर आगामी बोलकबोलमा भाग लिन अयोग्य हुनेछन्। भुक्तानी मितिमा, तोकिएको ब्याजसहितको निक्षेप रकम सम्बन्धित बैंकको राष्ट्र बैंकमा रहेको खातामा फिर्ता गरिने व्यवस्था गरिएको छ।