गत बिहीबार देखी अनिश्चितकालका लागि आन्दोलन घोषणा गरेको संयुक्त जनआन्दोलन समितिको आन्दोलन रोकिएको छ ।
तिन दिन सम्म शान्तिपुर्ण रूपमै चलिरहेको आन्दोलनमा आइतबार भने प्रहरीले धरपकड सुरु गरेपछि राजावादीहरूबिच त्रास फैलिएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत ८ जना राजावादीलाई प्रहरीले आइतबार आन्दोलनस्थलबाटै पक्राउ गरेको थियो ।
तथापी गए राती नै पक्राउ परेका मध्य एक जना बाहेक सबै रिहा भैसकेका छन् ।
यति बेला पक्राउको डरले कतिपय नेताहरू मोबाइल फोन बन्द गरेर बसेको भन्ने समाचारहरू पनि बाहिरी रहेका छन् । आइतबार राती आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतलाई भेट्न हिरासत पुगेका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको थियो । तत्कालै जनआन्दोलन समितिले सोमबार उपत्यका बन्द गरिने घोषणा गरे पनि नेताहरूको रिहाइ पछि अबेर राति यो निर्णय फिर्ता भयो ।
बन्दका कार्यक्रम स्थगित र संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको अनिश्चितकालिन आन्दोलन पनि आज नहुने भएपछी राजावादीहरू कथै डराएका त होइनन् भन्ने आशङ्का उब्जिएको छ ।
यो बाहेक स्थानीय प्रशासनले पनि सोमबारदेखि काठमाडौँ महानगर क्षेत्रमा लक्षित विरोध कार्यक्रमहरूमा रोक लगाएको छ।
‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरे पनि पाँचौं दिन सोमबार राजधानीमा कुनै प्रदर्शन भइरहेको छैन ।
आन्दोलन समिति अन्तर्गतकी निर्देशक समिति सदस्य अस्मिता भण्डारीले शान्तिपूर्ण विरोधमा पनि राज्यले दमन सुरु गरेको बताउँदै आगामी कार्यक्रमहरू सूचना प्रकाशित गरेर सार्वजनिक गरिने जानकारी दिइन्।
सोमबार समिति संयोजक नवराज सुवेदीको अध्यक्षतामा बैठक बसेको थियो, जसमा आजको दिन कुनै प्रदर्शन नगर्ने निर्णय भएको छ । समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा भने राजपरिवारका सदस्यको निधनप्रति श्रद्धाञ्जली स्वरूप जुलुस र धर्ना स्थगित गरिएको जनाइएको छ।
आज साँझ ६ बजे कमलादी गणेश स्थानमा दिवङ्गत आत्माहरूको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम गरिने तालिका रहेको छ ।
वर्तमान शासन प्रणालीलाई चुनौती दिने उद्देश्यसहित गठन गरिएको यस संयुक्त आन्दोलन समितिमा राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी र हिन्दुवादी सङ्गठनहरूको सहभागिता छ।
यसअघि आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्रका मुख्य सार्वजनिक स्थानहरूमा विरोध, सभा, अनशन जस्ता कार्यक्रम निषेध गर्ने निर्णय लिएको थियो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी निषेधाज्ञामा कोटेश्वरदेखि बालकुमारी र सिफल चौर तथा बल्खु क्षेत्रबाहेक अन्य ठाउँमा प्रदर्शनमा रोक लगाइएको छ।
प्रशासनले सार्वजनिक सेवा, यातायातमा अवरोध तथा शान्ति सुरक्षामा असर पर्ने सम्भावनाका कारण यस्तो निर्णय गरेको स्पष्ट पारेको छ। यद्यपि जिल्ला प्रशासनसँग समन्वयमा गरिने विरोध कार्यक्रमलाई भने अनुमति दिइनेछ। निषेधाज्ञाको अवधि प्रारम्भमा दुई महिनाको हुने जनाइएको छ।
पछिल्ला घटनाले सरकार राजावादीमाथि कडा नीति अपनाइरहेको सङ्केत दिँदै उनीहरूलाई नयाँ रणनीति बनाउन बाध्य बनाएको छ।