• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

उत्तर–पूर्व भारतमा बाढीले मच्चायो कहर, ३४ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर–पूर्वी क्षेत्रमा मनसुनजन्य भारी वर्षा, बाढी र पहिरोले गम्भीर मानवीय र भौतिक क्षति पुर्‍याएको छ। असम, मणिपुर, सिक्किम, अरुणाचल प्रदेश, मेघालय र मिजोरम जस्ता राज्यहरू विशेष प्रभावित भएका छन्।

भारतीय मौसम विभागले आगामी जुन ६ सम्म भारी वर्षाको चेतावनी जारी गरेको छ भने तत्काल राहतको सम्भावना देखिएको छैन। यो प्राकृतिक विपत्तिले हालसम्म कम्तीमा ३४ जनाको ज्यान लिइसकेको छ, र हजारौँ मानिसहरू विस्थापित भएका छन्।

असममा सबैभन्दा बढी प्रभाव

असमको १५ जिल्लामा बाढीले ७८ हजारभन्दा बढी मानिसहरूलाई प्रभावित बनाएको छ। ब्रह्मपुत्रसहित १० नदीहरू खताकाे संकेतभन्दा माथि बगिरहेका छन्। गुवाहाटीमा पहिरोका कारण ५ जनाको ज्यान गएको छ भने लखिमपुरको घुनासुती क्षेत्रमा डुबानको अवस्था भयावह छ।

राज्य सरकारद्वारा प्रभावित परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ। हालसम्म २८ हजारभन्दा बढी मानिसहरूले राहत शिविरमा आश्रय लिइसकेका छन्, तर धेरै स्थानमा सहायता पुर्‍याउन कठिनाइ भएको छ।

मणिपुर, सिक्किम र अरुणाचल प्रदेशमा संकट

मणिपुरको राजधानी इम्फाल डुबानमा परेको छ। निरन्तर वर्षाका कारण इम्फाल र नाम्बुल नदीहरू खताकाे सीमाभन्दा माथि पुगेका छन्। सयौँ घर क्षतिग्रस्त छन्, र सुरक्षाकर्मीहरूले ठूलो संख्यामा उद्धार गरेका छन्।

सिक्किमको उत्तरी क्षेत्रमा करिब १,५०० पर्यटक फसेका छन्। मंगन जिल्लामा टिस्टा नदीमा कार बगाउँदा ८ जना बेपत्ता छन् भने एक जनाको मृत्यु भएको छ।

अरुणाचल प्रदेशमा पहिरो र बाढीले ९ जनाको ज्यान लिएको छ। भारतीय वायु सेनाले बोम्जिर नदी क्षेत्रमा फसेका १४ जनाको सफल उद्धार गरेको छ। यस क्षेत्रमा सडकहरू पहिरोले अवरुद्ध छन्।

मेघालय र मिजोरममा पनि क्षति

मेघालय र मिजोरम दुवैमा ६/६ जनाको मृत्यु भएको पुष्टि भएको छ। मिजोरममा एक होटल पहिरोमा परेर भत्किँदा ३ जना म्यानमारका नागरिकको मृत्यु भएको छ।

प्रभावित राज्यहरूमा उद्धार तथा राहत कार्य जारी रहेको छ, तर अविरल वर्षाले कठिनाइ थपिएको स्थानीय अधिकारीहरूले जनाएका छन्।