
बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., बागलुङको आयोजना, जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को प्राविधिक सहयोगमा बचत खेल (Savings Game) तालिम आइतबारदेखि बागलुङ बजारमा सुरुवात भएको छ ।
संस्थाको केन्द्रिय कार्यालय लगायत विभिन्न सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरु सहभागी रहेको तालिमको मुख्य उद्देश्य कर्मचारीहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई व्यवहारिक रूपमा बचत र खर्च व्यवस्थापनका सिप बारे प्रशिक्षण गराई सदस्यहरुलाई सिप हस्तान्तरण गर्न सक्ने बनाउनु हो ।
बचत खेल तालिम एक नविन अभ्यासात्मक पद्धति हो, जसअन्तर्गत सहभागीहरुले खेल माध्यमबाट वित्तीय निर्णय, जोखिम मूल्याङ्कन, बजेट निर्माण, बचत रणनीति, ऋण व्यवस्थापन लगायतका विषयहरुमा ज्ञान हासिल गर्न सक्नेछन् । प्रशिक्षकहरुका अनुसार यस्तो प्रकारको तालिमले कर्मचारीहरुको सेवा क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
तालिमको उद्घाटन सत्रमा सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारीका कर्मचारीहरूलाई वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम संस्थाको दीर्घकालीन रणनीतिसँग जोडिएको बताए । उनले यस्ता तालिमहरुले सहकारी संस्था र सेवाग्राही दुवैको हितमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
२ दिनसम्म चल्ने तालिमलाई नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनका कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र व्यवसाय अधिकृत प्रकाश अधिकारीले सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सचिव ज्ञानेन्द्रराज पन्तको स्वागत र संस्थाका सहायक प्रवन्धक सालिकराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।